जिल्लामा बुधबार (आज) एकै दिन २५ वटा सवारी साधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयको छड्को अनुगमणका क्रममा जिल्लाको छिवाङ र सिम्रुतमा २५ वटा सवारी कारवाहीमा परेका हुन् । जसबाट २७ हजार राजश्व संकलन भएको छ । नियम उल्लंघन गर्नेमा सबैभन्दा बढी ट्याक्टर रहेका छन् । कागजपत्र नराख्ने, लापरवाही गरेर चलाउने ९ वटा ट्याक्टर कारबाहीबाट ९ हजार ५ सय सदस्य उठेको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मण विश्वकर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार ७ वटा जीप, ५ वटा मोटरसाईकल र ४ वटा ट्रक पनि कारवाहीमा परेका छन् । जीपबाट ८ हजार, मोटरसाईकलबाट ५ हजार ५ सय र ट्रकबाट ४ हजार राजश्व संकलन भएको उहाँले बताउनुभयो । लाईसेन्स, ब्लु बुक लगायतका कागजपत्र नबोक्ने, लापरवाही पूर्ण तरिकाले चलाउने, क्षमता भन्दा बढी यात्रु बोक्ने र रुट परमिट नभएका सवारीलाई कारवाही गरीएको उहाँको भनाई छ ।
जनशक्तिको अभाव लगायतका कारण लामो समयसम्म हुन नसकेको छड्के अनुगमणलाई ट्राफिक प्रहरीले पुनः सुरु गरेको बताएको छ । सवारी चलाउँदा चरम लापरवाहीको क्रम बढेको देखिएपछि पनि त्यसलाई नियन्त्रण गर्नका लागि अव देखि नियमित सवारी जाँचलाई बढाउने ट्राफिक प्रहरीको भनाई छ ।