रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १ को भेरीमा बसपार्क निर्माण हुने भएको छ । जसका लागि संघीय सरकारबाट ३ करोड बजेट प्राप्त भएको छ । बसपार्क निर्माणका लागि डिपिआर भइसकेको छ । तर बजेट अभावमा बसपार्क निर्माणको काम सुरु हुन सकेको थिएन् । अव भने बसपार्क निर्माणले गति लिने भएको छ । वडा नम्बर १ को भेरी भन्ने ठाउँमा बसपार्कका लागि जग्गा प्राप्ती भइसकेको छ । बजेट आएसंगै यसै वर्षबाट बसपार्क निर्माणको काम सुरु हुने मुसीकोट नगरपालिकाले जनाएको छ ।
अव छिट्टै बसपार्क निर्माणको टेण्डर आह्वान हुने मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतमले जानकारी दिनुभयो । सपिङ मल सहितको सुविधा सम्पन्न बसपार्क निर्माण गर्ने गरी डिपिआर भएको छ । डिपिआर अनुसार बसपार्क निर्माणका लागि ५८ करोड बजेट खर्च हुने छ । यो वर्षबाट निर्माणको काम सुरु हुने र अपुग रकम संघ र प्रदेश सरकारसंग माग गर्ने नगर प्रमुख गौतमले बताउनुभयो ।
जिल्ला सदरमुकाममा बसपार्क नुहँदा यातायात सेवा अस्तव्यस्त अवस्थामा छ । बसपार्क नहुँदा सडक आसपासमै गाडी पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ । जसका कारण सवारी आवागमण तथा पैदल आवत जावत गर्नेहरुलाई सास्ती भइरहेको छ ।
साथै वडा नम्बर ६ भण्डारीकाँडा, वडा नम्बर ५ को डिग्रे, वडा नम्बर १ को मठ हुँदै वडा नम्बर २ को राउखेतसम्मको सडक कालोपत्रेका लागि ३ अर्व बजेट आएको नगरपालिकाले जनाएको छ । त्यस्तै वडा नम्बर १ को बराहटाकुरा टुडिखेल देखि वडा नम्बर ३ को पिपलनेटासम्मको सडक स्तरोन्नतिका लागि १ करोड ८० लाख रुपैंया आएको नगरपालिकाको भनाई छ ।