रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले मंसिर मसान्तसम्म योजना सम्झौता गरिसक्न निर्देशन जारी गरेको छ । तोकिएको समयमा योजना सम्झौता गर्न नआएमा कार्यक्रम तथा योजना कार्यान्वन नहुने नगरपालिकाले जनाएको छ ।नगरपालिकाबाट आर्थिक वर्ष २०७८÷०७९ को लागि स्विकृत वडास्तरीय वार्षिक विकास कार्यक्रम उपभोक्ता समिति, समुह तथा सहकारी संस्था, फर्म तथा निर्माण व्यवसायी मार्फत कार्यान्वयन तथा संचालन हुने नगरपालिकाको भनाई छ ।
सोही अनुसार आफ्नो वडामा परेको कार्यक्रम तथा योजना कार्यान्वयन, संचालन गर्नका लागि आवश्यक काजजात सहित सम्झौताका लागि नगरपालिकाको कार्यालयमा सम्पर्क गर्न निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले एक सूचना जारी गर्दै आग्रह गर्नुभएको छ । स्थानीय तहहरुले निश्चित समयसिमा तोकेर सम्झौताका लागि आह्वान गर्ने गरेपनि तोकिएको समयमा निकै कम मात्र योजना सम्झौता हुने गरेका छन् ।
स्थानीय तहले तोकिएको समयमा सम्पर्कमा नआए योजना संचालन नहुने भनेपनि यसको कार्यान्वयन हुन नसक्दा तोकिएको समयमा सम्झौता नहुने र समयमा काम सुरु नहुने रोग सबै स्थानीय तहमा कायम छ । जसका कारण अधिकांश योजना तथा कार्यक्रम असारमा कार्यान्वयन, संचालन गर्ने र उक्त महिनामै ठूलो बजेट खर्च हुने क्रम रोकिन सकेको छैन् ।