Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणिमा दुई वर्षमा नौ खानेपानी आयोजना निर्माण
त्रिवेणि गाउँपालिका २, को मुलापानी खानेपानी आयोजनाको उद्घाटनका क्रममा गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्ती मगर ।

त्रिवेणि गाउँपालिकाका विभिन्न वडामा ९ वटा खानेपानी आयोजना सम्पन्न भएका छन् । पछिल्लो दुई वर्षयता मात्रै त्रिवेणिमा ९ खानेपनीका योजना निर्माण सम्पन्न भएका हुन् भने ३ वटा निर्माणको अन्तिम चरणमा छन् । नेपाल रेडक्रस सोसाइटीको स्वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छताका लागि सामुदायिक सहकार्य कार्यक्रम, त्रिवेणि गाउँपालिका, पहाडी साना किसानका लागि अनुकुलन आयोजना आशा परियोजना, बैकल्पिक उर्जा प्रद्र्धन केन्द्र र स्थानीय उपभोक्ताको सयुंक्त लगानीमा ति आयोजना सम्पन्न भएका हुन् ।

खानेपानी, विद्यालयमा खानेपानी, स्वास्थ्य संस्थामा खानेपानी आयोजना निर्माण सम्पन्न भएका हुन् । यसैगगरी लिफ्ट खानेपानी तथा अरु आयोजना निर्माण सम्पन्न भएका हुन् । त्रिवेणि गाउँपालिकाको खारानेटामा बुधबार बार्षिक समिक्षा कार्यक्रम गरी सम्पन्न भएका आयोजना र निर्माणधिन आयोजनाको बारेमा जानकारी गराइएको हो । १० नम्वर वडाको दोमिल्ला, टोट्के सौर्य खानेपानी आयोजना, १ वडाको दिव्यचच्छु मावि संस्थागत खानेपानी तथा चर्पी निर्माण, ६ नम्बर वडाको बाँठाकोट आकाशेपानी संकलन आयोजना, १ नम्बर वडाको बल्लेजुरा खानेपानी आयोजना र २ नम्बर वडाको मुलापानी खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो ।

यसैगरी वडा नम्वर ३ को युवाजनजागरण आधारभुत विद्यालयमा संस्थागत खानेपानी तथा चर्पि निर्माण, ३ नम्बर वडाकै तल्लो पधेरा मुहान संरक्षण, ३ नम्बर वडाकै माथिल्लो पधेरा खानेपानी आयोजना, ७ नम्बर वडाको थारमारे, राजकोट, लिफ्ट खानेपानी आयोजना निर्माण सम्पन्न भएका छन् । ७ नम्बर वडाको थारमारे,राजकोट लिफ्ट खानेपानी आयोजनाको मेशिनरी वाल निर्माण, १० नम्बर वडाको सिम्तारे खानेपानी आयोजना र ८ नम्बर वडाको कालाखोला खानेपानी आयोजना निर्माणको चरणमा छन् ।

यि १२ आयोजना निर्माणका लागि झण्डै ८ करोड १९ लाख ५६ हजार २१ रुपैयाँ खर्च हुँदैछ । यसमा सबभन्दा बढी नेपाल रेडक्रस सोसाइटीले लगानी गरेको छ । ३ करोड १६ लाख ७९ हजार ८ सय १६ रुपैयाँ यि आयोजनामा नेपाल रेडक्रस सोसाइटीको वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छताका लागि सामुदायिक सहकार्य कार्यक्रमले लगानी गरेको छ । त्रिवेणि गाउँपालिकाले २ करोड ३० लाख ६२ हजार ३ सय ६२, आशा परियोजनाले ५७ लाख, वैकल्पिक उर्जा प्रद्र्धन केन्द्रले ३० लाख र स्थानीय उपभोक्ताले २ करोड ५ लाख १३ हजार ८ सय ४३ रुपैयाँ लगानी गरेका छन् ।

रेडक्रसले भौतिक पूर्वाधारको साथै स्वास्थ्य तथा जनचेतना सम्बन्धिका अन्य काम पनि गर्दै आइरहेको रेडक्रसका जिल्ला कार्यक्रम अधिकृत सुमन ज्ञवालीले जानकारी दिनुभयो । गाउँपालिकाको सिफारिस र आवश्यक्ताको आधारमा रेडक्रसले काम गर्दै आइरहेको अधिकृत ज्ञवालीले बताउनुभयो । निर्माण हुँदै गरेका आयोजना सम्पन्न पश्चात मात्रै कार्यक्रम सकिने उहाँको भनाई छ । कोरोना भाइरसका कारण केही कार्यक्रम गर्न नसकिएको र त्यसलाई अब क्रमिकता र तिब्रताका साथ गरिरहेको रेडक्रसले जनाएको छ ।

त्रिवेणि गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्ती मगरले सबैको सहकार्य र समन्वयबाट खानेपानीका आयोजना निर्माण र मर्मतमा राम्रो भएको बताउनुभयो । आधारभुत आवश्यक्ता र अधिकार भइसकेको खानेपानीलाई एक घर एक धाराको रुपमा गाउँ गाउँमा पुर्याइरहेको अध्यक्ष घर्तीको भनाई छ । हालसम्मको काम राम्रो भएको र आगामी दिनमा पनि अँझ राम्रो गर्दै सबैसँगको सहकार्य, समन्वयमा गाउँपालिका अघि बढ्ने भनाई अध्यक्ष घर्तीको छ । जिल्ला समन्वय समिति सदस्य टेकबहादुर ओलीले सबैको सहकार्य र समन्वयमा विकास निर्माणले गति लिने बताउनुभयो । सरकारका सहयोगीका रुपमा रहेका एनजिओ तथा आइएनजिओले स्थानीय सरकारको समन्वयमा विकास निर्माणका काम गर्नुपर्ने र यसबाट मात्रै जनताका समस्या समाधान गर्न सकिने भनाई उहाँको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  ०६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update