Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा १ सय २८ जनाको आँखाको निःशुल्क अप्रेशन 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा १ सय २८ जनाको आँखाको निःशुल्क अप्रेशन भएको छ । मोतियाबिन्दुको समस्या भएकाहरुको निःशुल्क अप्रेशन गरिएको हो । यसअघि कार्तिक १ गते देखि ६ गतेसम्म नगरपालिकाका विभिन्न ६ ठाउँमा आँखा जाँच घुम्ती शिविर संचालन गरिएको थियो । उक्त शिविरबाट मोतियाबिन्दुको समस्या भइ अप्रेशन गर्नुपर्ने १ सय ८६ जनाको पहिचान भएको थियो । घुम्ति शिविरबाट पत्ता लागेका बिरामीहरुलाई लक्षित गर्दै हिजो र आज वडा नम्बर २ को स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क आँखा अप्रेशन शिविर संचालन गरिएको हो । 

पहिचान भएका १ सय ८६ जना मध्यमा १ सय २८ जना मात्र आँखाको अप्रेशनका लागि आएको आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो । २ दिने शिविरमा कुल २ सय ४३ जनाले सेवा लिएकामा १ सय २८ जनाको अप्रेशन गरिएको उहाँको भनाई छ । ग्लोबल मेडिकल फाउण्डेसन अस्ट्रेलियाको आर्थिक सहयोग र नेपाल नेत्र ज्योति संघ राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा चौरजहारी नगरपालिकाले निःशुल्क आँखा जाँच घुम्ती शिवर र निःशुल्क आँखा अप्रेशन शिविर आयोजना गरेको हो । 

आँखाको समस्या भएका नगरवासीलाई लक्षित गरेर सुरुमा घुम्ती शिवर र त्यसपछि अप्रेशन शिविर संचालन गरिएको नगरपालिकाले जनाएको छ । नजिक उपचार सेवा नहुँदा धेरै नागरिकहरुले आँखाको समस्या भएपनि उपचार गर्न नसकेको अवस्थालाई ध्यानमा राखेर आँखा जाँच र अप्रेशन शिविर चलाएको नगरपालिकाको भनाई छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update