जिल्ला भलिबल संघ रुकुम पश्चिमले पहिलो पटक भलिबल संघ कप आयोजना गरेको छ । यो प्रतियोगिता पुष १० गते भोली शुक्रबार देखि मुसीकोट नगरपालिका–१, मठमा सुरु हुने छ । प्रतियोगिता पुष १५ गतेसम्म चल्ने जिल्ला भलिबल संघका अध्यक्ष मोहनकुमार चन्दले जानकारी दिनुभयो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप प्रतियोगिता आयोजना गरिएको उहाँको भनाई छ । प्रतियोगिताबाट रुकुम पश्चिमको टिम पनि घोषणा गरिने छ । प्रतियोगिता खुला वडा स्तरीय हुने आयोजकले जनाएको छ । जिल्ला सहित जिल्ला बाहिरका वडाले पनि प्रतियोगितामा सहभागिता जनाउन सक्ने अध्यक्ष चन्दले बताउनुभयो ।
प्रतियोगिताको विजेताले नगद ५१ हजार, ट्रफि र मेडल प्राप्त गर्दा उप–विजेताले नगद ३१ हजार सहित ट्रफि र मेडल प्राप्त गर्ने आयोजकको भनाई छ । त्यस्तै तृतिय हुने टिमले नगद २१ हजार, ट्रफि र मेडल प्रदान गरिने छ । स्थान हाँसिल गर्ने सबै खेलाडिलाई मेडलको पनि व्यवस्था गरिएको आयोजकले बताएको छ । त्यस्तै विभिन्न व्यक्तिगत पाँच इभेन्टमा पनि खेलाडि पुरस्कृत हुने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडिका साथै उत्कृष्ट स्पाईकर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट सेटर घोषणा गरी पुरस्कृत गर्ने आयोजकको तयारी छ ।
जिल्लामा लामो समय पछि भलिबल प्रतियोगिता हुन लागेको हो । गत चैत्र देखि कोरोनाका कारण प्रभावित भएपनि त्यो अगाडि समेत लामो समय जिल्लामा भलिबल गतिविधि भएका थिएनन् । लामो समयपछि जिल्ला भरीका तथा जिल्ला बाहिरका समेत खेलाडिहरुको सहभागितामा प्रतियोगिता हुने भएपछि भलिबल खेलाडि तथा भलिबल प्रेमिहरु उत्साहित बनेका छन् ।