Kakhara सबैको खबर सम्पूर्ण खबर
सोती घटनाः साक्षीहरु अदालतमा हाँजिर, भोलीबाट वकपत्र

६ जनाको ज्यान जाने गरी भएको सोती घटनाका साक्षीहरु जिल्ला अदालत रुकुम पश्चिममा हाँजिर भएका छन् । अदालतको आदेश अनुसार वादी र प्रतिवादी पक्षका साक्षीहरु आज अदालतमा हाँजिर भएका हुन् । भोलीबाट साक्षीहरुको वकपत्र सुरु हुने जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिनुभयो । ‘आजैबाट साक्षीहरुको वकपत्र सुरु गर्ने तयारी थियो, तर साक्षीहरु हाँजिर हुन ढिलाई भएकाले आज हाँजिर मात्र गराईयो, उहाँले भन्नुभयो–भोलीबाट निरन्तर वकपत्र चल्छ ।’

शुक्रबारसम्ममा साक्षीहरुको वकपत्र सक्ने लक्ष राखिएको उहाँको भनाई छ । तर साक्षीले कति बोल्छन भन्ने कुराले समय निर्धारण गर्ने भएकाले ठ्याक्कै कति दिनमा वकपत्र सकिन्न भनेर भन्न नसकिने उहाँले बताउनुभयो । ‘तर ढिलोमा आईतबारसम्ममा त सकिएला उहाँले भन्नुभयो ।’ वादीको तर्फबाट वकपत्रका लागि सरकारी वकिलको कार्यालयले ३९ जनाको निवेदन अदालतमा बुझाएको छ । त्यस्तै प्रतिवादीको तर्फबाट २३ जना साक्षीको निवेदन परेको अदालत स्रोतले जनाएको छ । 

२०७७ को जेठ १० गते चौरजहारी नगरपालिका वडा नम्बर ८ को सोती गाउँमा भएको घटनामा परी जाजरकोटका ५ सहित ६ जना युवाको ज्यान गएको थियो । उक्त घटनाको मुद्दा जिल्ला अदालत रुकुम पश्चिममा विचाराधिन अवस्थामा रहेको छ । 

उक्त घटनामा संलग्न भएको आरोपमा सुरुमा २ नाबालक सहित ३४ जना पक्राउ परेका थिए । जसमध्यमा २ नाबालक सहित ११ जना रिहा भइसकेका छन् भने बाँकी पूर्पक्षका लागि थुनामा रहेका छन् । घटनामा परी जाजरकोटको भेरी नगरपालिका ४ का नवराज बिक, लोकेन्द्र सुनार, गणेश बुढामगर, सञ्जु बिक, गोविन्द शाही र चौरजहारी १ का टिकाराम नेपालीको ज्यान गएको थियो । अन्तरजातिय प्रेम सम्बन्धका कारण उक्त घटना निम्तिएको थियो ।   
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update