आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमले सेवा सुचारु गरेको छ । सदरमुकाम खलंगा स्थित कालिकास्थानमा रहेको मुसीकोट नगरपालिकाको १ नम्बर वडा कार्यालयको तल्लो तलाबाट केन्द्रले सेवा प्रवाह थालेको हो । केन्द्रले दिने सेवा पूर्ण निःशुल्क हो । केन्द्रले टिकटको समेत शुल्क लिँदैन ।
आयुर्वेद स्वास्थ्य केन्द्रले हाल २५ रोगका विभिन्न औषधी गर्दै आएको छ । रोग अनुसारका औषधी फरक फरक पनि हुने भएकाले केन्द्रमा भएका सबै औषधी निःशुल्क नै दिने गरिएको वैद्य युवा केसीले बताउनुभयो । केन्द्रले हाले २५ रोगको उपचारका लागि विभिन्न आयुर्वेद औषधी दिने र उपचार विधि सिकाउने गरेको केसीले जानकारी दिनुभयो ।
नाम दर्ता देखि अरु कुनै पनि सेवामा शुल्क नलाग्ने उहाँले बताउनुभयो । केन्द्रमा पाइने सम्पूर्ण खाले औषधी पनि निःशुल्क नै प्रदान गर्ने गरिएको छ । यसको साथै अरु थेरापी सम्बन्धिका काम र योगा समेत सञ्चालन गर्ने तयारीमा केन्द्र छ । योगा पनि विना कुनै शुल्क सञ्चालन गर्ने त्यसका लागि कम्तिमा दश जना सहभागि हुनुपर्ने वैद्य केसीले बताउनुभयो ।
सम्पूर्ण सेवा प्रवाहका लागि केन्द्रलाई ठाउँको भने अभाव रहेको उहाँको भनाई छ । साँघुरै ठाउँबाट पनि सेवा प्रवाह भइरहेको र हाल दैनिक ३० देखि ४० जनासम्म विरामी आउने गरेको केन्द्रले जानकारी दिएको छ । यस अघि जिल्ला अस्पताल भित्रै आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा थियो । केन्द्रमा हाल एक जना डाक्टर, एक जना कविराज र एक जना वैद्य कार्यरत छन् ।