Kakhara सबैको खबर सम्पूर्ण खबर
सोती घटनाः वादी पक्षका साक्षीको वकपत्र जारी  

६ जनाको ज्यान जाने गरी भएको सोती घटनाका साक्षीहरुको आजबाट वकपत्र सुरु भएको छ । अहिले वादी पक्षका साक्षीहरुको वकपत्र जारी छ । वादी पक्षका साक्षीहरुको वकपत्र सकिएपछि मात्र प्रतिवादी तर्फका साक्षीहरुको वकपत्र हुने जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिनुभयो । 

अहिले पनि साक्षीहरुको वकपत्र चलिरहेको उहाँले बताउनुभयो । अझै १, २ घण्टासम्म वकपत्र चल्न सक्ने उहाँको भनाई छ । अदालतको आदेश अनुसार वादी र प्रतिवादी पक्षका साक्षीहरु मंगलबार अदालतमा हाँजिर भएपछि आजबाट वकपत्र सुरु भएको हो । शुक्रबारसम्ममा साक्षीहरुको वकपत्र सक्ने योजना राखिएको उहाँको भनाई छ । तर साक्षीले कति बोल्छन भन्ने कुराले समय निर्धारण गर्ने भएकाले ठ्याक्कै कति दिनमा वकपत्र सकिन्छ भनेर भन्न नसकिने उहाँले बताउनुभयो । 

वादीको तर्फबाट वकपत्रका लागि सरकारी वकिलको कार्यालयले ३९ जनाको निवेदन अदालतमा बुझाएको छ । त्यस्तै प्रतिवादीको तर्फबाट २३ जना साक्षीको निवेदन परेको अदालत स्रोतले जनाएको छ । ०७७ को जेठ १० गते चौरजहारी नगरपालिका वडा नम्बर ८ को सोती गाउँमा भएको घटनामा परी जाजरकोटका ५ सहित ६ जना युवाको ज्यान गएको थियो । उक्त घटनाको मुद्दा जिल्ला अदालत रुकुम पश्चिममा विचाराधिन अवस्थामा रहेको छ । 

उक्त घटनामा संलग्न भएको आरोपमा सुरुमा २ नाबालक सहित ३४ जना पक्राउ परेका थिए । जसमध्यमा २ नाबालक सहित ११ जना रिहा भइसकेका छन् भने बाँकी पूर्पक्षका लागि थुनामा रहेका छन् । घटनामा परी जाजरकोटको भेरी नगरपालिकाका नवराज बिक, लोकेन्द्र सुनार, गणेश बुढामगर, सञ्जु बिक, गोविन्द शाही र चौरजहारी १ का टिकाराम नेपालीको ज्यान गएको थियो । अन्तरजातिय प्रेम सम्बन्धका कारण उक्त घटना निम्तिएको थियो ।   
 

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update