Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्नेमा हेलिकोप्टर मार्फत विद्युतका सामग्री लगिने
विद्युत आयोजना स्थल नजिकै ओख्रेनमा बनाइएको अस्थायी प्रकारको हेलिप्याड ।

रुकुम पूर्वको सिस्ने गाउँपालिकाको १ नम्बर वडा सिस्नेमा बन्ने विद्युतका लागि आवश्यक सामग्री हेलिकोप्टर मार्फत ढुवानी हुने भएका छन् । १ नम्बर वडाको ओख्रेनमा बन्ने पाखाओराली लघु जलविद्युत आयोजना निर्माणका लागि चाहिने विद्युतीय सामग्री हेलिकोप्टर मार्फत ढुवानी गर्न लागिएको हो ।

ओसियन पावर सर्भिसले विद्युत आयोजनाका विद्युतीय सामग्री खरिद ढुवानी र विद्युत गृह निर्माणको जिम्मा लिएको छ । सोही कम्पनीले खरिद गरेको विद्युतीय सामग्री हेलिकोप्टर मार्फत ढुवानी गरेर सिस्नेको ओख्रेन लैजाने तयारी भएको हो ।

६ वटा ट्रान्सफर्मर, एउटा जेनेरेटर, एउटा टर्वाइन, पेनस्टक पाइप, किएचडी बोर्ड लगायतका सामग्री हेलिकोप्टर मार्फत ढुवानी गर्न लागेको कम्पनीका प्रतिनिधि दिपक विसीले जानकारी दिनुभयो । तिहार लगतै सिम्रिक एयरको हेलिकोप्टर मार्फत ति सामग्री ढुवानी हुने विसीले बताउनुभयो ।

सबै सामग्री रुकुमकोट स्थित हेलिप्याड नजिकै लिएर राखिएको छ । कम्पनीले यो सबै काम गर्नका लागि १ करोड ५२ लाखमा ठेक्का लिएको छ । यो आयोजना बनेपछि सिस्नेको पहिलो आयोजना हुनेछ । ४६ किलोवाट विद्युत उत्पादन गर्ने गरी विद्युत निर्माण योजना अघि बढाइएको छ ।

यो बाहेकको काम भने स्थानीय उपभोक्ता समितिले गर्ने स्थानीय मनप्रसाद बुढाले जानकारी दिनुभयो । हेलिकोप्टरबाट सामान ढुवानी गरिने भएपछि हेलिकोप्टर बसाल्न हेलिप्याडको समेत तयारी गरिएको बुढाले बताउनुभयो । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update