रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ४ की ४० वर्षीया बेलमता खड्कालाई ८ वर्षअघि पत्थरीको अप्रेशन गर्दा ऋण लिनु परेको थियो । बाँकेको कोहलपुर पुगेर पत्थरी फाल्दा १ लाख १० हजार खर्च भयो । अस्पतालमा आएको बिल तिर्न उनले आफन्तलाई गुहार्नु परेको थियो । तर अहिले भने बेलमताको परिवारले उपचारमा ठूलो रकम खर्चिनु परेन । बिरामी नै नभएर भने पैसा तिर्नु नपरेको होइन् । बेलमता आफैंलाई अप्रेशनपछि पनि अन्य विभिन्न स्वास्थ्य समस्या देखियो । गतवर्ष मात्र उनले कोहलपुर पुगेर तल्लो पेटको उपचार गराएकी थिइन् । उनका श्रीमान तेजबहादुर पनि बिरामी छन् । शरीरमा क्याल्सियम कमी हुँदा नियमित उपचार गराइराख्नु पर्छ । श्रीमान श्रीमती नै उपचारमा भएपनि यो परिवारलाई अहिले धेरै राहत भएको छ ।
गाउँपालिकाले उनको परिवारको निःशुल्क बीमा गरिदिएको छ । उनीहरुको उपचार खर्च हाल स्वास्थ्य बीमाले नै व्यहोर्छ । आउने, जाने र बस्ने बाहेक उपचार खर्च बीमाबाटै टरिरहेको उनले बताइन् । गतवर्ष तल्लो पेटको उपचारमा कोहलपुर पुगेकी बेलमताको ५० हजार भन्दा बढी खर्च भयो । उनका श्रीमान पनि जेठमा उपचारका लागि काठमाडौं गए । त्यतिबेला पनि ५० हजार जति नै खर्च भयो । खड्का दम्पतीको उपचार र औषधि खर्च बीमाबाटै भुक्तानी भएको थियो । केही औषधि मात्र किन्नु परेको बेलमताले सुनाइन् । बिमाले ठूलो सहयोग गरिरहेको उनको भनाइ छ । ‘सुरुमाके होला र भनेर मन नलाई नलाई बिमा फारम भरेको थिएँ, २ हजार ५ सय तिर्दा चौपट लागेको थियो,’ बेलमताले भनिन्, ‘तर अहिले बीमाको महत्व बुझेका छौं । स्वास्थ्य बीमाका कारण हाम्रो घरखेत जोगिएको छ ।’स्वास्थ्य बीमाकर्ताले आउने, जाने, खाने, बस्ने खर्च बाहेक अषधोपचारको करिब सबै खर्च बिमाले तिरिदिन्छ ।
बिरामी पर्दा पैसा छैन भनेर बस्नु पर्दैन
दुई वर्षअघि बेलमताले आफ्नै पैसाले स्वास्थ्य बीमा फाराम भरेकी थिइन् । राम्रो भएपछि नियमित बीमा गर्ने सोँचमा थिइन् उनी । तर आफैंले पैसा तिरेर बीमा गर्नु परेन । गाउँपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने नीति लियो । उक्त कार्यक्रम भित्र बेलमताको परिवार पनि समेटियो । जेठ १ गतेबाट लागू हुने गरी गाउँपालिकाले बीमा गरिदिएपछि अहिले बेलमताको परिवारले त्यसैबाट उपचार सेवा पाइरहेको छ । ‘स्वास्थ्य बीमा त हामी जस्तालाई बरदान रहेछ, ८ वर्षअगाडि पनि यस्तै सेवा भएको भए त एक लाखसम्मको सेवा निःशुल्क पाइने रैछ, उतिबेलाको कुरा सम्झिन्छिन्, ‘१ लाख १० हजार खर्च गरेर पत्थरीको अप्रेशन गरेकी थिएँ, त्यतिबेला हामीलाई ठूलो ऋण लाग्यो ।’
त्रिवेणि गाउँपालिका वडा नं. ९ का पदम बस्नेतको परिवारलाई पनि स्वास्थ्य बीमा बरदान बनेको छ । पदम दीर्घ रोगी हुन् । उनलाई दम छ । हात खुट्टा दुख्ने समस्याको नियमित उपचार गराइरहनु पर्छ । श्रीमतीको पत्थरीको अप्रेशन भएको छ । छोरालाई निमोनियाको उपचार गर्नुपर्छ । छोरी दाँतको बिरामी । परिवारलाई नै नियमित उपचारको खाँचो छ । स्वास्थ्य बीमा गरेपछि बस्नेत परिवारलाई आर्थिक भार कम भएको छ । उपचार गर्दा पैसा सापट गर्नुपर्ने अवस्थामा रहेको यो परिवारलाई हाल सरसापट गर्नु परेको छैन । पदम केही दिन अघि जिल्ला अस्पतालमा एक हप्ता भर्ना भए । १० हजार उपचार खर्च आयो । सो रकम सबै बीमा कार्डबाटै काटियो । गोजीबाट एक रुपैयाँ खर्चिनु परेन । छोराको निमोनियाको उपचारका लागि केही दिनमा नेपालगञ्ज जाने योजनामा पदम छन् । बिमाकै भरमा सामान्य खर्च लिएर छोराको उपचारमा निस्किन लागेको उनले सुनाए ।
बिमाले आशा जगायो
बेलमता र पदममात्र होइन, त्रिवेणीवासीलाई स्वास्थ्य बीमा बरदान सावित भएको छ । गाउँपालिकामा हालसम्म २ हजार ९ सय ७७ जनाको स्वास्थ्य बीमा गरिएको छ । आ.व. २०७४÷०७५ देखि हालसम्म १ हजार ५ सय ७८ परिवार स्वास्थ्य बीमामा जोडिएको बिमा बोर्ड रुकुम पश्चिमले जनाएको छ । जसमा ५३ परिवारको भने गाउँपालिकाले निःशुल्क गरिदिएको छ । विपन्न परिवार छनौट गरी गाउँपालिकाले प्रतिपरिवार ३ हजार ५ सयका दरले बीमा गरिदिएको हो । बिमा गरेकाले कुनै न कुनै स्वास्थ्य सेवा लिइरहेको बोर्डले जनाएको छ । त्रिवेणीका २ सय ५० जनाले निःशुल्क स्वास्थ्य बीमाको सेवा पाएका छन् । गत आ.व.मा ५३ परिवारको बीमा गर्दा पालिकाले १ लाख ९८ हजार ८ सय रुपैयाँ खर्चिएको थियो । तीन लाख बजेट विनियोजन गरेको थियो । तर सबै रकम खर्च हुन सकेन ।
गाउँपालिकाले यो वर्ष २ लाख ५० हजार बजेट छुट्याएको छ । गतवर्ष बीमा गरेकाको नवीकरण गरिने छ भने नयाँ पनि थपिने गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । शाखाका अनुसार निःशुल्क स्वास्थ्य बीमाको सेवा पाउनेमा वडा नम्बर ३ का ८, ४ का ६, ५ का ६, ६ का ७, ७ का ६, ८ का ८, ९ का ६ र वडा नं. १० का ६ परिवार रहेका छन् । बीमा गर्न परिवार संख्या ५ जना भएकोलाई ३५ सय र त्यो भन्दा बढी संख्या भएमा प्रतिव्यक्ति ७ सयका दरले थप रकम लाग्ने स्वास्थ्य शाखा सह–संयोजक बीरबहादुर डाँगीले जानकारी दिए । ५ जना भन्दा बढी सदस्य भए प्रति सदस्य ७ सय सेवा शुल्क थप हुन्छ भने २० हजार उपचार सेवा थप हुँदै जान्छ । डाँगीका अनुसार तोकिएका स्वास्थ्य संस्थामा पुगेर बिमाका लागि सूचीकृत सबै औषधि निःशुल्क रुपमा पाइन्छन् । तर सूचीकृत नभएका औषधि भने बिरामीले किन्नु पर्छ ।
‘स्वास्थ्य सेवाबाट कोही वञ्चित नहोस्’
पैसाको अभावमा उपचार गर्न नसक्ने नागरिकलाई लक्षित गरेर गाउँपालिकाले सबै वडाका विपन्न नागरिकको बीमा गरिदिने नीति लिएको गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्ती बताउँछन् । अहिले नागरिकहरु गोजीमा पैसा नभएकै कारण उपचारबाट वञ्चित नरहेको गाउँपालिकाको निष्कर्ष छ । यो कार्यक्रमबाट सानो रोग मात्र नभई मृगौला, क्यान्सर जस्ता जटिल समस्याको उपचारमा सहज होस भन्ने लक्ष राखिएको छ । ‘मौसमी रोग देखि जटिल खालका दीर्घ रोगीहरुले समेत लाभ लिन सकून् भन्ने हाम्रो लक्ष हो, १ लाखसम्मको सेवा निःशुल्क पाउँदा ठूलो राहत मिल्छ,’ उनले भने । अहिलेको संख्यालाई बढाएर धेरैभन्दा धेरैलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने र सहज सेवा प्रवाहको सोच यस आ.व.मा पनि गरेको अध्यक्ष बताउँछन् ।
पालिकामै सेवा दिने लक्ष
गाउँपालिकाले बीमा गरिदिएका वा आफैंले गरेकालाई अहिले सेवा लिन जिल्ला अस्पताल मुसीकोटमा पुग्नु पर्छ । गाउँपालिकामा अस्पताल छ तर त्यसले बीमा बोर्डको सेवा प्रदायक संस्थाको मान्यता पाउन सकेको छैन । अब भने गाउँपालिका अस्पतालबाटै बीमाको सेवा दिने तयारी भइरहेको स्वास्थ्य शाखाका डाँगीले बताए । वडा नं. ३ को खारानेटामा रहेको गाउँपालिका अस्पताललाई यसैवर्ष बीमा बोर्डको सेवा प्रदायक संस्था बनाएर पालिकाबाटै सेवा दिने लक्ष राखिएको छ ।
‘हाम्रो आफ्नै गाउँपालिका अस्पताल छ, डाक्टर पनि छन्, जिल्लामा पाइने सेवा यही पाइन्छ,’ उनले भने, ‘तर बिमाको सेवा दिन फार्मेसी र एक्सरे सेवा पनि उपलब्ध हुनुपर्ने रैछ, अहिले हाम्रोमा त्यो सेवा छैन्, यसै वर्षभित्र त्यसको व्यवस्थापन गरी बिमाको सेवा दिने छौं ।’ यसपछि भने थप सहजहुने महसुस गरिएको छ । न्यूनतम गरिबीको रेखामा रहेका स्थानीयवासीलाई पालिकाको सहयोग र बीमा कम्पनीको सहजीकरणमा उपचार नपाएर कोही कसैले मर्न नपरोस् भन्ने सरकारको नीतिलाई सार्थकता दिने विश्वास गर्न सकिन्छ ।