Kakhara सबैको खबर सम्पूर्ण खबर
झण्डै ६५ लाख व्यक्तिगत लगानीमा तयार भयो खुला मञ्च
गाैप्रसाद र विनाकुमारीका दमप्पती ।

रुकुम पूर्वकाे पुथाउत्तरगंगा गाउँपालिकामा व्यक्तिगत लगानीमा खुला मञ्च तयार भएको छ । पुथाउत्तरगङ्गा गाउँपालिका ११ उपल्लो सेराका गौप्रसाद बुढामगर र विनाकुमारी बुढामगले ब्यक्तिगत लगानीमा प्रवेश–रामजी खुला स्मृति खुला मन्च निर्माण गर्नुभएको हो । ६४ लाख ५० हजार रुपैयाँ लगानी गरेर गौप्रसाद र विनाकुमारीले उक्त मञ्च निर्माण गर्नुभएको हो । उपल्लो सेरा घर भइ उहाँको दम्पती हाल अमेरिका बस्दै आउनु भएको छ । 

गौप्रसाद स्वर्गीय हजुरबुवा कुमार बुढामगर र स्वर्गी बुवा ढलप्रसाद बुढामगरको छोरा हुनुहुन्छ  । विनाकुमारी स्वर्गीय सर्वधन बुढामगरकी नातिनी स्वर्गीय  बुवा प्रवेश बुढामगरकी छोरी हुनुहुन्छ । गौप्रसाद र विनाकुमारीले आफ्ना हजुरबुवा, बुवा, आमाको सम्मान र सम्झनामा उक्त मञ्च निर्माण गर्नुभएको हो । उहाँको दम्पतीले यस अघि पनि विभिन्न ठाउँमा सहयोग गर्दै आएको छ ।

उक्त मञ्चको उद्घाटन गरेर पुथाउत्तरगंगा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । खुला मञ्च निर्माण गर्नु भएकामा गाउँपालिका तथा अरु विभिन्न निकायले गौप्रसादको दम्पतीलाई सम्मान गरेका छन् । गौप्रसाद र विनाकुमारीले मञ्च उद्घाटनमा आएका केन्द्रीय कलाकारलाई दश/दश तथा स्थानीय कलाकारलाई पाँच/पाँचले सम्मान समेत गर्नुभएको छ । 

गाउँपालिकालाई खुला मञ्चा हस्तान्तरण गर्दै गौप्रसादले मञ्च बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ  । भौतिक रुपमा टाढा भएपनि जन्मभूमिको माया र सम्मान स्वरुप खुला मञ्च निर्माण गरेको उहाँले बताउनुभयो । सानै उमेरमा बाबुआमा गुमाएको स्मरण गर्दै उहाँले श्रीमती विनकुमारी लगायतको सहयोगमा थोरै भएपनि गाउँको विकास गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।

आगामी दिनमा पनि गाउँको विकासमा सकेको सहयोग गर्ने प्रतिबद्धता उहाँले गर्नुभएको छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले व्यक्तिगत रुपमा गाउँपालिकालाई ठूलो सहयोग भएको बताउनुभयो । सरकारले गर्ने काम व्यक्तिगत लगानी र सक्रियतामा भएको भन्दै अध्यक्ष घर्तीले गौप्रसादको दम्पतीलाई धन्यवाद दिनुभयो । गौप्रसादका दम्पतीको लगानीमा तयार भएको मञ्च गाउँपालिकाको ठूलो सम्पतीको रुपमा दर्ज भएको अध्यक्ष घर्तीले बताउनुभयो । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update