कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले जनताले विकास गरेको बताउनुभएको छ । आज गृहनगर रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ११ को जनकल्याण माविको नव निर्मित भवनको उद्घाटन गर्दै मन्त्रीले शर्माले रुकुमको विकासको श्रेय रुकुमेली जनातालाई जाने बताउनुभयो ।
आफुहरुले जनताले दिएको म्याण्डेटमा काम मात्र गरेको उहाँको भनाई छ । ‘जति विकास भएको छ त्यो हामीले होईन तपाई जनताहरुले नै गर्नुभएको हो, उहाँले भन्नुभयो–हामीलाई तपाई जनताले अगाडि नलगाएको भए यो विकास हुने थिएन् ।’ रुकुमेली जनताले सही पात्रलाई चुनेर अगाडि बढाईरहेको उहाँको भनाई थियो ।
रुकुम विकासको यात्रामा धेरै अगाडि बढिसकेको दाबी समेत उहाँले गर्नुभयो । ‘कसैले कल्पनासम्म नगरेका लेकमा खानेपानी पुगेको छ, सबै कुरामा विकसित ठाउँमा समेत निर्माण हुन नसकेका सुविधासम्पन्न बिद्यालय भवन बनेका छन्, चुनाव अघि गाडीमा जान नसकिने ठाउँमा गाडीमा जान सकिन्छ, उहाँले भन्नुभयो ।’
त्यस्तै विद्युत, सञ्चार, शिक्षा लगायतका सबै क्षेत्रमा रुकुमले फड्को मारिरहेको उहाँको भनाई छ । आफुहरु दिनरात नभनि जनताले दिएको म्याण्डेट अनुसारको काममा रहेको उहाँले स्पस्ट पार्नुभयो । विकासका धेरै कामहरुको थालनी भएको र ति कामलाई पूर्णता दिनका लागि जनताको थप साथको आवश्यकता रहेको समेत उहाँले बताउनुभएको थियो ।
स्थानीय, प्रदेश र संघीय सरकार मिलेर जिल्लाको थप विकास गर्ने कुरामा आफुहरु गम्भिर रहेको पनि उहाँको भनाई थियो । सबै जिल्लावासीलकाई कसरी धनी बनाउने भन्ने आफुहरुको अवको प्रमुख प्राथमिकता रहेको उहाँले बताउनुभयो । यसका लागि सबै जिल्लावासीलाई सस्तो व्याजदरमा २ लाख कृषि ऋणको व्यवस्था गर्न लागिएको उहाँले जानकारी गराउनुभयो ।