नेपाल कम्युनिष्ट पार्टी नेकपा रुकुम पश्चिमले प्रचण्ड–माधव नेपाल समूहले गरेको निर्णयमा समर्थन रहेको जनाएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै नेकपाले केपी ओलीलाई कारबाही गर्ने लगायतका सबै निर्णयमा दृढतापूर्वक समर्थन गर्ने उल्लेख छ । नेकपाका जिल्ला अध्यक्ष गोपाल शर्मा र सचिव विमलकुमार पुनद्धारा हस्ताक्षरित विज्ञप्तीमा ‘संविधानमा हुँदै नभएको अधिकारको हवाला दिँदै राष्ट्रिय, अन्तर्राष्ट्रिय अनुभवको हास्यास्पद तर्क गर्दै प्रधानमन्त्री र राष्ट्रपतिको मिलिभगतमा चालिएको प्रतिनिधि सभा विघटनको कमदमलाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी र स्वेच्छाचारी कदमको रुपमा संश्लेषण गर्दै पार्टी केन्द्रीय कमिटिले गरेको केपी ओलीलाई कारबाही गर्ने लगायतका निर्णयहरुको हामी दृढतापूर्वक समर्थन गर्दछौं,’ भनेर लेखिएको छ ।
गत पुष ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गरेको संसद विघटनको घटना दुःखद र निन्दनिय भएको विज्ञप्तीमा उल्लेख छ । प्रधानमन्त्री र राष्ट्रपतिको कदमबाट राष्ट्रले व्यहोर्नु परेको संकटबाट मुक्ति दिलाउन पार्टी केन्द्रीय कमिटिले गरेका निर्णय अनुसार संघर्शको मोर्चामा व्यापक र सक्रिय सहभागि हुँदै पार्टीलाई अँझ एकीकृत र सुदृढ गर्ने कार्यमा लागि पर्न जिल्ला स्थित सम्पूर्ण पार्टी नेता तथा कार्यकर्तालाई अध्यक्ष शर्मा र सचिव पुनले आग्रह गर्नुभएको छ । नेकपा जिल्ला कमिटि रुकुम पश्चिमको यो विज्ञप्तीपछि नेकपा जिल्लाको मुल नेतृत्व प्रचण्ड–माधव नेपाल समूहमै रहेको प्रष्ट भएको छ । माओवादी र एमालेको एकता अघि अध्यक्ष शर्मा साविक माओवादीको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो भने सचिव पुन नेकपा एमालेको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।