Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिमका कर्मचारीलाई मन्त्री शर्माको निर्देशन छिटो काम गर्नुहोस् 

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले रुकुम जिल्लास्थित कर्मचारीहरुलाई छिटो काम गर्न निर्देशन दिनुभएको छ । आज जिल्ला प्रशासन कार्यालयमा भएको प्रदेश तथा केही संघ मातहतका कार्यालय प्रमुखहरु संगको भेटघाटमा मन्त्री शर्माले जतिसक्दो छिटो काम गर्न निर्देशन दिनुभएको हो । 

बजेटको अख्तियारी आईसक्दा पनि काम नगरेर बस्ने परिपाटीको अन्त्य हुन नसक्नु दुःखद भएको उहाँको भनाई छ । ‘जतिसक्यो छिटो काम गर्नुहोस्, समयमै काम सकियो भने थप बजेटको व्यवस्था गर्न सजिलो हुन्छ, उहाँले भन्नुभयो–काम गर्दा यसको प्रभावकारीतामा पनि ध्यान दिनुहोला ।’

प्रदेश मातहतका धेरै कार्यालयहरुले समयमा काम नगरेको र गरेको काम पनि प्रभावकारी बन्न नसकेको गुनासो आईरहेको भन्दै उहाँले छिटो काम गर्नुका साथै कामको प्रभावकारीतामा पनि ध्यान दिन सचेत गराउनुभएको हो । कहाँनेर के पुगेको छैन् आफैले समिक्षा गर्न र मन्त्रालयगत वा अन्य कुनै समस्या भएमा आफुलाई जानकारी गराउन उहाँले कार्यालय प्रमुखहरुलाई आग्रह समेत गर्नुभएको छ । 

त्यस्तै मन्त्री शर्माले जिल्लामा धेरै योजनाहरु अलपत्र अवस्थामा रहेको बताउँदै यस्ता योजनाको नियमित निगरानी र कामका लागि ठेकेदारलाई खबरदारी गर्न प्रमुख जिल्ला अधिकारी सहित सम्बन्धीत कार्यालयका प्रमुखलाई आग्रह गर्नुभएको छ । ठेक्का तोड्नुपर्ने अवस्था भए तोड्न र नभए काम सुरु गर्न ठेकेदारलाई निरन्तर खबरदारी आवश्यक रहेको उहाँको भनाई छ । 

सबैको तालमेलबाट मात्र राम्रो काम हुने उहाँले बताउनुभयो । यसका साथै उहाँले सल्ली–चौरजहारी सडक, चौरजहारी–वैरागिठाँटी सडक र मुसीकोट खलंगा–आठबीसकोट राडी सम्मको सडक कालोपत्रे गर्ने योजना अगाडि बढाईएको जानकारी गराउनुभएको थियो । यसक्रममा प्रदेश तथा संघ मातहतका कार्यालय प्रमुखहरुले कार्यालयका कामका बारेमा रिपोर्टिङ गरेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update