Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमको प्रारम्भिक जनसंख्या १ लाख ७२ हजार

रुकुम पश्चिमको जनसंख्या १० प्रतिशत बढेको छ । जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार १० वर्षको अवधिमा जिल्लाको जनसंख्या १८ हजार ६ सय ८४ ले बढेको जिल्ला जनगणना कार्यालय रुकुम पश्चिमले जनाएको छ । २०६८ सालमा रुकुम पश्चिमको जनसंख्या १ लाख ५४ हजार २ सय ७२ थियो । जनगणना २०७८ अन्तरगत भएको घर तथा घर परिवार सूचिकरणवाट जिल्लाको जनसंख्या १ लाख ७२ हजार ९ सय ५६ देखिएको जिल्ला जनगणना अधिकारी सतिश चौधरीले जानकारी दिनुभयो । 

यो प्रारम्भिक नतिजा भएको र यसमा मुख्य गणनाबाट केही तलमाथि हुन सक्ने उहाँले बताउनुभयो । प्रारम्भिक नतिजा अनुसार जिल्लाको जनसंख्या १०.८० प्रतिशतले बढेको देखिएको उहाँको भनाई छ । उहाँका अनुसार जिल्लामा घरधुरी संख्या २४ प्रतिशतले बढेको छ । २०६८ को जनगणना अनुसार जिल्लामा ३० हजार ६ सय ३३ घरसंख्या रहेकोमा हाल यो संख्या बढेर ३८ हजार १ सय २४ पुगेको चौधरीले बताउनुभयो । प्रारम्भिक गणनाको नतिजा अनुसार जिल्लाका अधिकांश परिवार कृषिमा निर्भर रहेका छन् ।

३८ हजार १ सय २४ कुल घर परिवार मध्य ३१ हजार ९ सय १७ कृषक परिवार रहेको जिल्ला जनगणना कार्यालयले जनाएको छ । घर तथा घर परिवार सूचिकरणका लागि भदौ ३० देखि असोज १८ सम्म ५७ जना फिल्ड सुपरिवेक्षक खटिएका थिए । २० दिनसम्म सुरपरिवेक्षकहरु घर घरमा पुगेको कार्यालयको भनाई छ । मुख्य गणना भने कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने छ । जसमा २ सय ३५ जना गणकहरु खटिने बताईएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update