रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले महिला तथा पुरुष दुवैतर्फको भलिबल जितेको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको अन्तरपालिका स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत सानीभेरीले महिला तथा पुरुष दुवै तर्फको भलिबल जितेको हो ।
पुरुषतर्फको फाइनल खेलमा सानीभेरीले चौरजहारी नगरपालिकालाई १–३ को सेटमा पराजित गर्याे पहिलो सेट चौरजहारी नगरपालिकाले १४–२५ ले जितेको थियो भने त्यसपछिको तीन वटा सेट सानीभेरीले नै जित्यो । सानीभेरीले दोस्रो सेट १०–२५ तेस्रो सेट २०–२५ र चौथो सेट २०–२५ले जित्यो ।
योसँगै सानीभेरी गाउँपालिको पुरुष भलिबल टिमले नगद ५५ हजारको साथमा मेडल र प्रमाण पत्र पाएको छ । उपविजेतामा चित्त बुझाएको चौरजहारी नगरपालिकाले २५ हजार नगद प्राप्त गर्दा सेमी फाइनलसम्म पुगेको बाँफिकोट गाउँपालिका र आठबीसकाेट नगरपालिकाले १२/१२ हजार नगद प्राप्त गरेका छन् ।
यस अघि भएको महिला भलिबलतर्फ पनि सानीभेरी गाउँपालिका नै विजेता बनेको थियो । सानीभेरीले त्रिवेणि गाउँपालिकालाई पराजित गरेको थियो । फाइलनमा त्रिवेणि गाउँपालिकालाई २–३ सेटले हराउँदै सानीभेरी विजेता बनेको हो । पहिलो र दोस्रो सेट त्रिवेणि गाउँपालिकाले जितेको थियो ।
त्यसपछि तेस्रो र चौथो सेट जितेको सानीभेरीले पाँचौ सेट पनि जितेको हो । पहिलो सेट त्रिवेणि गाउँपालिकाले १७–२५ ले दोस्रो सेट पनि १७–२५ ले हात पारेको थियो । तेस्रो सेट भने सानीभेरी गाउँपालिकाले २४–२६ र चौथो सेट ११–२५ ले हात पारेको थियो ।
पाँचौ सेट सानीभेरी गाउँपालिकाले १८–२० ले हात पार्न सफल भएको हो । विजेता सानीभेरी गाउँपालिकाले नगद ५५ हजार नगद प्राप्त गरेको छ । उपविजेता बनेको त्रिवेणि गाउँपालिकाले २५ हजार नगद प्राप्त गर्दा सेमी फाइनल पुगेका बाँफिकोट गाउँपालिका र आठबीसकोट नगरपालिकाले १२/१२ हजार नगद पुरस्कार हात पारेका छन् ।
जिल्ला खेलकुद विकास समितिले १२ गतेदेखि अन्तरपालिका स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिता अन्तर्गतको खुला पुरुष ब्याडमिन्टनमा भावेश बोहरा र सिदार्थ केसीको जोडि विजेता बनेको छ । कृष्ण नाथ योगी र विजय विष्टको जोडी उपविजेता बनेको छ ।
विशाल विष्ट र अभिनास केसी तथा सुधिरविक्रमा शाह र यामबहादुर केसीको जोडी सेमी फाइनलसम्म पुगेका थिए । ब्याडमिन्टनको विजेता जोडिले नगद २५ हजार, उपविजेता जोडिले नगद १५ हजार र सेमी फाइनल पुगेका २ जोडीले ५/५ हजार पुरस्कार पाएका छन् ।
आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेशकुमार शर्माले कोरोना कारण लामो समय नभएको खेल क्षेत्रलाई यो प्रतियोगिताले जगाएको बताउनुभयो । मुख्यमन्त्री कपको तयारीका रुपमा पनि यो प्रतियोगिता गरिएको उहाँको भनाई छ ।