रुकुम पश्चिमका ५० वडामा विद्युतको पहुँच पुगेको छ । केन्द्रीय प्रशारण लाईन र स्थानीय स्तरमा उत्पादन भएको विद्युत जिल्लाका ५० वडामा पुगेको नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रले जनाएको छ । जिल्लाका सबै ठाउँमा विद्युतिकरण गर्ने योजना अनुसार हालसम्म जिल्लाका ७३ मध्य ५० वटा वडामा विद्युत पुगेको रुकुम पश्चिम वितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिनुभयो । अव २३ वटा वडामा विद्युतिकरण हुन बाँकी रहेको उहाँले बताउनुभयो । विद्युत पुगेका वडामा पनि सबै घरमा विद्युत पुग्न नसकेको बताईएको छ ।
‘विद्युतको पहुँच पुग्ने वडाको संख्या ५० पुगेको छ, तर ति वडाका सबै घरमा भने विद्युत पुग्न बाँकी छ, हामी सबै घरमा विद्युत विस्तारको अभियानमा छौं उहाँले भन्नुभयो ।’ हालसम्म जिल्लाका १४ हजार ५ सय ११ घर विद्युतको पहुँचमा पुगेका छन् । अझै आधाभन्दा बढी घरमा विद्युत पुग्न बाँकी रहेको छ । प्रारम्भिक जनगणना अनुसार जिल्लामा ३८ हजार बढी घर छन् । जसअनुसार अझै २३ हजार बढी घरमा विद्युत पुग्न बाँकी छ । नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रका अनुसार हालसम्म सबैभन्दा बढी मुसीकोट नगरपालिकाका ४ हजार ३ सय ५१ घरमा बिजुली बलिरहेको छ ।
भने सबैभन्दा कम आठबीसकोट नगरपालकाका २ सय ३९ घरमा मात्र विद्युतको पहुँच छ । बाँफिकोट गाउँपालिकाका ३ हजार ८ सय ८५, त्रिवेणि गाउँपालिकाका ३ हजार २ सय ४४, चौरजहारी नगरपालिकाका २ हजार ७ सय ८३ र सानीभेरी गाउँपालिकाका ४ सय ९ घरमा विद्युत पुगेको छ । कोरोना महामारीका कारण भएको लकडाउनले विद्युत विस्तारमा केही अवरोध गरेको भएपनि कार्य प्रगति सन्तोषजनक रहेको वितरण केन्द्र प्रमुख भट्टराईको भनाई छ । जिल्लामा हाल दुई वटा शवस्टेशनबाट विद्युत आपुर्ति भइरहेको छ ।
सल्यानको श्रीनगर र जाजरकोटको जगतिपूर शव स्टेशनबाट विद्युत आपूर्ति भइरहेकामा लामो दुरीका कारण विद्युत सेवा नियमित बनाउन भने ठूलो चुनौति रहेको भट्टराईको भनाई छ । मुसीकोट नगरपालिका वडा नम्बर ३ को धैरेनीचौरमा शवस्टेशनको काम सकिदा पनि सुचारु हुन बाँकी छ ।