Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिममा राती ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले विशेष सतर्कता अपनाएर तिहार मनाउन आग्रह गरेको छ । कोरोना भाइरसको जोखिम कायमै रहेको भन्दै प्रशासनले आज सूचना निकाल्दै तिहार मनाउदा सतर्कता अपनाउन सबै जिल्लावासीलाई आग्रह गरेको हो । दिपावली, छठ, नेपाल सम्बत् लगायतका चाडपर्वहरुको अवसरमा जिल्लावासीलाई शुभकामना व्यक्त गर्दै प्रशासनले कोभिड १९ को संक्रमण अझै नियन्त्रण नभइसकेको हुँदा बिगतका सामान्य अवस्थाका बर्षहरुमा जस्तै हर्षोल्लासका साथ चाडपर्व मनाउन सकिने अवस्था नभएको जनाएको छ । 

चाडपर्वका समयमा हुन सक्ने लुटपाट, चोरी, डकैती, झैझगडा लगायतका अपराध तथा आगलागी, विष्फोट जस्ता घटनाबाट बच्न समेत उच्च सतर्कता र सावधानी अपनाउन प्रशासनले सबै जिल्लावासीलाई भनेको छ । प्रशासनले राती ९ बजेसम्म मात्र देउसी भैलो खेल्न अनुमति दिएको छ । कोभिडको जोखिम कायम रहेको तथा अन्य शान्ति सुरक्षालाई मध्यनजर गर्दै राती ९ बजेभन्दा पछाडि देउसी भैलो खेल्न नपाईने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । देउसी भैलो खेल्दा मास्क, सेनिटाईजरको प्रयोग सहित स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्न भनिएको छ ।  

मठ, मन्दिर, गुम्बा लगायतका स्थानहरुमा अनावश्यक भीडभाड नगरी पुजापाठ गर्न, ठुलो जमघट हुने खालका मेला जात्राहरु सञ्चालन नगर्न र सानो जमघट हुने खालका मेला जात्राहरु गर्नुपरेमा प्रशासनबाट अनिवार्य रुपमा स्विकृति लिन, जुवा तास खेल्ने खेलाउने क्रियाकलाप नगर्न आग्रह गरिएको छ । त्यस्तै पटका, आतसवाजी लगायतका विष्फोटक पदार्थहरूको आयात, संचय र प्रयोग नगर्न, मादक पदार्थ लगायतका नशालु पदार्थहरुको सेवन गरी सार्वजनिक स्थानमा होहल्ला, झै झगडा नगर्न, बेलुकी ८ बजे पछि मदिरा तथा मदिराजन्य पदार्थ बेचबिखन गर्न पनि प्रशासनले बन्देज लगाएको छ । 

आदेश विपरितको क्रियाकलाप भएको पाईएमा कानुन बमोजिम कारवाही हुने प्रशासनले चेतावनी समेत दिएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update