Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपाको बाँफिकोट गाउँपालिका एकढिक्का
नेकपा बाँफिकोट गाउँपालिकाको बैठकमा सहभागिहरु ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा बाँफिकोट गाउँपालिका कमिटि एकढिक्का देखिएको छ । शनिबार छिन्खेतमा बसेको बैठकमा पालिका कमिटिमा रहेका सम्पूर्ण सदस्य सहभागि भएर प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेका पछिल्ला कदमको घोर भत्सर्ना गर्ने निर्णय गरेका छन् । बाँफिकोट गाउँपालिकाको बैठकले प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको पार्टी नै मुल पार्टी भएकाले यसैका हरेक निर्णयमा पूर्ण एक्यबद्धता जनाएको छ ।

बैठकले गाउँपालिका, वडा र सेल समितिका पार्टीका बैठक, मोर्चा, विभागको बैठक तत्काल गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कमिटिको निर्णय अनुसार १४ गते सदरमुकाम खलंगामा हुने संघर्षको कार्यक्रममा बाँफिकोट गाउँपालिकाको तर्फबाट उल्लेख्य सहभागिता जनाउने निर्णय गरेको अध्यक्ष कविराम खत्रीले जानकारी दिनुभयो । नेकपाका जिल्ला अध्यक्ष गोपाल शर्मा, सचिव विमलकुमार पुन, कर्णाली प्रदेश सदस्य महेन्द्र केसी र धर्मबहादुर केसीको आतिथ्यतामा बैठक बसेको थियो । नेकपा जिल्ला कमिटिले जिल्ला स्थित नगर तथा गाउँपालिकाका बैठकहरु निरन्तर गर्ने जनाएको छ । आइतबार आठबीसकोट नगरपालिकाको पार्टीका बैठक बस्ने तयारी छ ।

यस अघि विहीबार जिल्ला कमिटिले एक विज्ञप्ती जारी गरी प्रचण्ड माधव नेपाल समूहकै नेकपा मुल नेकपा भएको जनाएको छ । जिल्ला अध्यक्ष गोपाल शर्मा र सचिव विमलकुमार पुनले हस्ताक्षर गरेको विज्ञप्तीमा प्रधानमन्त्री र राष्ट्रपतिको कदमको विरोध गर्दै नेकपा केन्द्रीय कमिटिले तय गरेका संघर्षका कार्यक्रम कार्यान्वयन गर्ने उल्लेख छ । जिल्ला कमिटिका केही बाहेक अधिकांश नेता प्रचण्ड माधव समूहमै छन् ।

प्रकाशित मिति: शनिबार, पुस ११, २०७७  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update