Kakhara सबैको खबर सम्पूर्ण खबर
सल्यान दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुग्यो, १० जनाको सनाखत 

आज बिहान सल्यानमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । जसमध्येमा १० जनाको मात्र सनाखत हुन सकेको छ । दुर्घटनामा ज्यान गुमाएका मध्ये सल्यानको शारदा नगरपालिका १२ हाल दाङको तुलसिपुर उपमहानगरपालिका–६ बस्ने ५३ वर्षिया प्रभा चलाउने, शारदा नगरपालिका–२ कि ६१ वर्षीया मिना डाँगी, शारदा नगरपालिका ३ कि ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी गाउँपालिका १ काभ्राकी २४ वर्षीया मीना शाही र दाङको बबई गाउँपालिका ४ कि ६० वर्षीया डुलि रेउलेको पहिचान खुलेको छ ।

त्यस्तै दाङको बबई गाउँपालिका ६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायनपुरकी ६५ वर्षीया ईन्द्रा अधिकारी र सल्यानको छत्रेश्वरी गाउँपालिका २ का २९ वर्षीय तिलक ओली, दाङ शान्तिनगर गाउँपालिका ८ की ३५ वर्षीया सावित्रा केसी र दाङ कोरवाङकी ५ वर्षीय सुरज ओलीको पनि सनाखत भएको सल्यान प्रहरीले जनाएको छ । 

सल्यानको जयतपानीबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा बिहान पौने ११ बजेतिर दुर्घटना भएको हो । घाइतेको उद्धार गरेर सल्यान जिल्ल्ला अस्पताल र श्रीनगरमा रहेको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ८ जनाको घटनास्थलमै ज्यान गएको हो भने बाँकीको उपचारका क्रममा मृत्यु भएको थियो । चालक भने फरार भएको र खोजी भइरहेको प्रहरीको भनाई छ । दुर्घटनामा पर्नेमा अधिकांश तिहारको विदा सकेर दाङ र अन्य शहरी क्षेत्रमा फर्कन लागेका रहेको प्रहरीले जनाएको छ । बस सडकबाट २ सय मिटर तल खसेको छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update