Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा राष्ट्रिय जनजणना २०७८ को तयारी पुरा 

यही कार्तिक २५ गते देखि मंसिर ९ गतेसम्म १५ दिन संचालन हुने राष्ट्रिय जनगणना २०७८ को तयारी रुकुम पश्चिममा पुरा भएको छ । २ सय ३८ जना गणकलाई तालिम तथा गणना सामग्रि दिएर तयारी अवस्थामा राखिएको जिल्ला जनगणना कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

तालिम देखि सामाग्रि व्यवस्थापन सहितका सम्पूर्ण काम सकिएको जिल्ला जनगणना अधिकारी सतिसकुमार चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार जनगणनालाई सफल पार्न जिल्लाका ७३ वडामा २ सय ३८ जना गणक खटिदै छन् । तीन वटा स्थानीय तहमा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । 

मुसीकोट नगरपालिकामा रहेको कार्यालयले त्रिवेणि गाउँपालिका, चौरजहारी नगरपालिकामा रहेको कार्यालयले सानीभेरी गाउँपालिका र आठबीसकोट नगरपालिकामा रहेको स्थानीय जनगणना कार्यालयले बाँफिकोट गाउँपालिका समेतलाई हेर्ने चौधरीले बताउनुभयो । यसअघि घर तथा घरपरिवार सूचिकृत कार्यक्रम सम्पन्न भइसकेको छ । 

जसअनुसार रुकुम पश्चिममा ३८ हजार १ सय २४ घरपरिवार र १ लाख ७२ हजार ९ सय ५६ प्रारम्भिक जनसंख्या रहेको छ । पूर्ण जनगणनाबाट यसमा केही थपघट हुन सक्ने जिल्ला जनगणना अधिकारी चौधरीले बताउनुभयो । घर तथा घर परिवार सूचिकृत कार्यमा ५७ जना फिल्ड सुपरिवेक्षकहरु खटिएका थिए ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update