रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ मा परम्परागत रुपमा लाग्दै आएको बेल्टापु मेलाको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरु हुने भएका छन् । सानीभेरी गाउँपालिका खेलकुद विकास समितिले मेलाको अवसरमा महिला पुरुष भलिबल, पुरुष क्रिकेट र पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियोगिता कार्तिक ३० गतेबाट सुरु हुने सानीभेरी गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव बालकुमार नकालले जानकारी दिनुभयो । पुरुष भलिबलको विजेताले १ लाख ६ हजार र उप विजेताले ६६ हजार नगद पुरस्कार पाउने छ । सेमिफाईनलमा पुग्ने २ टीमले २६/२६ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।
महिला भलिबलको विजेताले भने ६६ हजार नगद पुरस्कार पाउने छ । आयोजकका अनुसार महिला भलिबलको उप विजेताले नगद ४० हजार पुरस्कार प्राप्त गर्दा सेमिफाईनलमा पुग्ने २ टीमले समान १३/१३ हजार नगद पाउने छन् । महिला पुरुष भलिबल प्रतियोगिता खुला वडा स्तरीय रहेको आयोजकको भनाई छ ।
खुला पालिका स्तरीय पुरुष क्रिकेट प्रतियोगिताको विजेताका लागि ४० हजार र उप विजेताका लागि २० हजार पुरस्कारको व्यवस्था गरिएको छ । खुला पुरुष डबल ब्याडमिन्टनको विजेता जोडीले २६ हजार र उप विजेताले १५ हजार पुरस्कार पाउँदा सेमिफाईनलमा पुग्ने २ जोडीले समान ५/५ हजार परस्कार पाउने बताईएको छ । कार्तिक ३० गतेबाट सुरु हुने मेला तथा खेलकुद कार्यक्रम मंसिर ३ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।