हिमाली जिल्ला रुकुम पुर्व विपन्न भुगोलमा सुचिकृत पुथाउत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरामा आगामी मंसिर १७ गतेदेखि १९ गतेसम्म बृहत आँखा शिविर सञ्चालन हुने भएको छ । रोटरी कल्व अफ पोखरा फिस्टेलको संयोजनमा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग पुथा उत्तरगंगा गाउँपालिकाको व्यवस्थापनमा बृहत आँखा जाँच तथा अपरेसन शिविर संचालन गर्न सम्बन्धित सरोकारवाला निकायसँग छलफल गरिएको हो । अधिक मात्रामा आँखाका बिरामी रहेकाले सुविधा सम्पन्न अस्पतालमा पुग्न सक्ने अवस्था नभएकाले अलिकति भएपनि राहत दिन शिविर संचालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
शिविरमा मोतिविन्दु अपरेसन शिविरको व्यवस्थापन पुथाउत्तरगंगा गाउँपालिका कार्यालयले गर्ने भएको छ । प्राविधिक रुपमा निशुल्क शिविर सञ्चालन गर्न हिमालय आँखा अस्पताल पोखरा, रोटरी कल्व अफ फिस्टेल पोखरा साथै शिविर संयोजन गर्न कर्म फलाइट्स फाउन्डेसन पोखरा कास्की र रोटरी कल्व अफ बुर्तिबाङ ढोरपाटनलाई जिम्मेवार दिइएको पालिकाले जानकारी दिएको छ । शिविरमा गाउँपालिका भित्रका स्वास्थ्य निकायलाई परिचालन गरिने गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीमगरले बताउनुभयो ।
३ दिन सम्म रहने शिविर महेन्द्र माविको प्राङ्गणमा सञ्चालन गरिने छ । स्वास्थ्यकर्मी र बिरामीको खानबस्न व्यवस्थापन खर्च गाउँपालिकाले बेहोर्ने अध्यक्ष घर्तीले जानकारी दिनुभयो । बैठकमा गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्ती मगर, उपाध्यक्ष ओमकुमारी शाही मल्ल, १० नम्बर वडा अध्यक्ष ज्योतिमान गुरुङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत वशिष्ठ नारायण यादव, महेन्द्र माविका निमित्त प्राचार्य राजधन घर्तीमगर, प्राथमिक स्वास्थ्य केन्द्र कोलका डाक्टर अनिल बुढामगर खामकाे उपस्थिति थियाे ।
यस्तै गरी स्वास्थ्य संयोजक समिर गिरी, ५ नम्बर वडा अध्यक्ष कालिप्रसाद रोका मगर, ६ नम्बर वडा अध्यक्ष टोपे सेन साथै रोटरी कल्व अफ पोखरा फिस्टेलका अध्यक्ष डाक्टर सुनु दुलाल, रोटरी कल्व अफ पोखरा फिस्टेल शिविर संयोजक बिनोद कोइराला, रोटरी कल्व अफ बुर्तिबाङ ढोरपाटनका अध्यक्ष तुलसीराम अर्याल, कर्म फलाइट्स फाउन्डेसन पोखराका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरको उपस्थिति रहेको थियो ।