Kakhara सबैको खबर सम्पूर्ण खबर
वर्तमान संकट, जनताको मत र मेरो अनुभव

हुनत, विद्यार्थीकालमा डा.बाबुराम भट्टराइको व्यक्तित्व, मोहन वैध्यका लेख रचनाहरु, जनार्दन शर्माहरुका भाषण, हेमन्त प्रकाश, लोकेन्द्र बिष्ट, दौलत घर्तीहरुका प्रशिक्षणबाट प्रभावित भएर २०५२ अघिको तत्कालिन माओवादी विचारबाट राजनीतिक चेतनाको विजारोपन भएको हो । प्रचन्डको बारेमा अली पछि मात्र जानकारी भयो । विद्यार्थीकालमा दिमागमा घुसेको राजनीतिक चेतना दवाउन गाह्रो पर्दोरहेछ । उतिखेरको सोँच, विचार, आचार, संस्कार र व्यवहारमा आकाश जमिनको फरक देखिन्छ । राजनीतिक बहस छलफलबाट अलग्गिने अनेक प्रयास गर्दा पनि फेरि कताकताबाट चासो जुर्मुराउँछ । र, २/४ शब्द लेख्न मन लाग्छ । लेख्दालेख्दै ८३० शब्द पुगेको पत्तो हुँदैन ।

यतिखेर देशले फरक खालको राजनीतिक डिस्कोर्षको माग गरिरहेको छ । अहिले कुनै पनि विवेकशील स्वतन्त्र नागरिक बिना कुनै सोँचविचार हतारमा तात्तातै एकहोरो आरोप प्रत्यारोपमा उत्रिएर कित्ताकाँटमा विभक्त हुनु सान्दर्भिक छैन । राष्ट्रिय राजनीतिक विषयले गहन विश्लेषण र समिक्षाको माग गरिरहेको छ । संघिय सरकारको पक्ष विपक्षमा आरोप प्रत्यारोप थोपर्दै गर्दा नेपालमा हाल कतिवटा सरकार छन् भन्ने हेक्का राख्नु पर्छ । देशमा विकास भइरहेको राजनीतिक चिन्तनको आधारभुमी संघ सरकार मात्र होइन । प्रदेश र स्थानीय सरकारहरु पनि हुन् । के संघ बाहेक ७६० वटा सरकारका सम्पूर्ण गतिविधिहरु जनप्रिय छन् ? संघ बाहेक प्रदेश र स्थानीय तहका सरकारहरुले कसैलाई अन्याय, अत्याचार, थिचोमिचो गरेका छैनन ? अन्यायको विरुद्धमा बोल्ने भए देशभरी भएको अन्यायको बारेमा बोलौँ । देशैभरी भएका वेथितिको बारेमा बोलौँ । तीनै तहका सरकारमा भएका अनियमितताको बारेमा बोलौँ ।

भुइतहका मानिसहरु संघियताको विकल्प खोजिरहेका छन् । किन ? त्यसको पछाडिको कारण सैद्धान्तिक हो कि व्यावहारिक ? त्यसको चित्तबुझ्दो जवाफ खोजौँ । स्थानीय सरकार सोझै आफ्ना मतदाता भोटरप्रति मात्र जवाफदेही आशक्त भए । जो जसले निर्वाचित स्थानीय सरकारलाई मत दिएनन तिनको साझा अभिभावकत्व स्थानीय सरकारले वहन गर्न सके कि सकेनन ? भोट हाल्ने नहाल्ने नागरिकको नितान्त मौलिक हक हो । तर सरकार त सबैको हुनुपर्थ्थो नि ! राजनीतिक दल र नेतृत्व निर्वाचन हुनुपुर्व मात्र दलीय आस्था विचारबाट परिचालित हुने हो । तर निर्वाचित भइसकेपछि पनि सबै जनसमुदायको साझा अभिभावक हुन नसकेको नागरिकको अनुभव छ । यसमा धारणा के हो ? खोजौँ ।

वर्तमान संविधान बन्दा संविधान सभाको सचिवालमा देशैभरीबाट औपचारिक रुपमा अखिलेकीकरण गरिएका जनताका लिखित सुझावहरु एकपल्ट फेरि पल्टाएर हेरौँ । अहिले उत्पन्न परिस्थितिको आँकलन सचेत नेपालीजनले उतिखेरै गरेका थिए । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उतिखेरै दिइएको सबैभन्दा धेरै सुझावलाई किन लत्याइएको हो त ? 

स्थानीय तहमा वल्लोपल्लो घरको मतदाता उम्मेदवार । घर जोडिएपनि छिमेकी भए पनि लोकतन्त्रमा मत एउटै पार्टी उम्मेदवारमा नपर्न सक्छ । एउटै परिवारका सदस्यको पनि अलगअलग चिन्हमा मत पर्न सक्छ । त्यस्तो अवस्थामा आफुलाई भोट नहाल्नेहरुलाई सबैको साझा हुनुपर्नेहरुबाटै विभेद गरिएको छ । नजिकैको मान्छे जसले निर्वाचनमा आफुलाई भोटै हालेन भने त्यसलाई सहज सेवा प्रवाह किन गर्ने भन्ने प्रतिशोधी भावनामा स्थानीय सरकारहरु उद्धत भएका छन् । आफ्नो आलोचक सेवाग्राहीप्रति सरकार र सरकारकै पदाधिकारीहरु नकारात्मक भएका कैयन उदाहरणहरु छन् । विभेदले विद्रोह जन्माउंछ भन्नेहरुले नै किन गरे त विभेद !? त्यसको आधार खोजौँ । त्यसको उपज र परिणाम पनि आंकलन गरौँ ।

मान्छेहरु नजिकको राजा विभेदकारी हुँदो रहेछ । बरु टाढाकै राजा ठीक ! भन्न थालेका छन् । यस्तै फुटकर व्यक्तिगत अनुभुतीहरुको समिश्रणबाट नै राष्ट्रिय अनुभुती बन्ने हो । जनबललाई विश्वास गर्नेहरुले जनताका यस्ता असन्तुष्टीहरुलाई ध्यान दिउँ । खाली एकहोरो एउटै धारको विरोध गर्दा तीनै तहका सरकारका बहुरुपी विभेदकारी व्यवहारबाट पिडित भएकाहरुको मनमा मल्हमपट्टी लाग्ला ? कतिपय अवस्थामा त संघीय सरकारले भन्दा प्रदेश र स्थानीयले अन्याय गरेका उदाहरणहरु पनि छन् । यस्तो अवस्थामा आँखा चिम्लेर कित्ताकाँट गरी पक्ष विपक्षमा उछ्रिनपाछ्रिन गर्दा स्वतन्त्र विवेकशीलतामा प्रश्न चिन्ह लाग्न सक्छ ! वर्तमानका समस्याहरुको यथोचित पहिचान नगरी गरिने गतिविधिले आगामी दिनको राजनीतिक परिदृश्य पनि धमेलिन्छ । हाम्रो भविष्य थप अन्धकार बन्छ ।भुइतहका मान्छेहरुको भावना नसुन्दा नसोचेको परिणाम आउन सक्छ । अप्रत्यक्ष विभेद गर्ने भन्दा प्रत्यक्षरुपमा चरम अन्याय गर्नेहरुको विपक्षमा उभिनु नै मानवीय स्वभाव हो । मानवचेत कस्तो हुन्छ ? जस्तोसुकै कठीन परिस्थिति पनि सामना गर्न तत्पर हुन्छ । तर अपमान, विभेद, अन्याय र अत्याचार सहन सक्दैन । २०५२ देखि २०६३ सम्मको विष्फोटनको कार्यकारण त्यही थिएन ?

अहिलेको सम्पूर्ण असन्तुष्टिहरुको कारक व्यक्तिगत रुपमा 'खास पक्ष' को कार्यशैली मात्र होइन । हामीले अवलम्वन गरेको शासकीय श्वरुप¸ राज्यले लिएका नीति र तिनको कार्यान्वयनको अवस्था, संविधानले विजारोपन गरेका सपना, संविधानका मार्गदर्शन र राजनीतिक नेतृत्वको स्वार्थवीचको टकराव, राज्यप्रणालीका संयन्त्रहरुको सोँच, राज्यका अङ्ग तथा सरकारी निकायहरुको कार्यसम्पादन, तीनै तहका सरकारमा रहेकाहरुका अनुभुतिजन्य गतिविधि, नेपालमा विद्यमान राजनीतिक दलले अवलम्वन गरेका सैद्धान्तिक अवधारणा र व्यवहारगत क्रियाकलापहरुको तालमेलमा रहेका बेमेलहरु पनि वर्तमान संकटका आधार हुन् । जनमत एकातिर वर्तमान नेतृत्वको सोँच अर्कातिर हुनु नै वर्तमान समस्याको कारक हो ।

वर्तमान संविधान बन्दा संविधान सभाको सचिवालमा देशैभरीबाट औपचारिक रुपमा अखिलेकीकरण गरिएका जनताका लिखित सुझावहरु एकपल्ट फेरि पल्टाएर हेरौँ । अहिले उत्पन्न परिस्थितिको आँकलन सचेत नेपालीजनले उतिखेरै गरेका थिए । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उतिखेरै दिइएको सबैभन्दा धेरै सुझावलाई किन लत्याइएको हो त ? 'शीर्ष सहमति' को नाममा जनताका भावनालाई किन किनारा लगाइएको थियो ? किन राजनीतिक दलका उम्मेदवारहरुको लागि न्युनतम योग्यता र मापदन्ड बनाउनुपर्छ भनी दिइएका त्यति धेरै सुझावहरु नजरअन्दाज गरिएको थियो ? संविधानको मस्यौदामाथि सुझाव संकलन कार्यदल समक्ष देशैभरी दिइएका सुझाव हेरौँ । सम्झिऔँ ।

जनताको बोली कतैबाट परिचालित थिएन । छैन । तर पनि जनताले चिच्याई चिच्याई भन्दाभन्दै सुनिएन त उतिखेर किन ? अहिले आएर दशकौँको बहस, खरबौँको खर्चबाट निर्मित संविधान र व्यवस्थाको दिगोपनामाथि किन प्रश्नहरु उठ्न थाले ? कहीँ न कहीं हामीले जनताको भावनामाथि खेलबाड गरेकै छौँ ! आत्मसमिक्षा गरौँ ! जनताको निष्कलङ्क आवाजहरुलाई उपेक्षा नगरौँ । जनताको भावनालाई सर्वोपरी ठानौँ । जनताको ईच्छा वेगर लादिने कुनै पनि शासकीय शैली टिकाउ हुँदैन । जनताको चेतना, अनुभव र अनुभुतीभन्दा अलग भएर शासन सत्ता स्थापना र संचालन गर्न  सकिदैन । किनकी राज्यको उत्पत्ती नै जनताको हितको लागि भएको हो । जनताको आकांक्षा प्रतिकुल कुनै पनि सत्ता टिकाउ हुँदैन । जनताको अभिमतलाई नकुल्चिउँ । जनमतलाई दबाउन सम्भवै छैन । सरकार संचालनमा शक्तिको स्रोत नै जनता भएपछि जनताको मतभन्दा माथि कुनै सिद्धान्त छैन ।

प्रकाशित मिति: शनिबार, पुस ११, २०७७  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update