Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिममा ४ महिनामा २५ सय ५० को आँखा जाँच, १ सय ३७ को अप्रेशन

रुकुम पश्चिममा गत साउन यता २ हजार ५ सय ५० जनाले आँखाको जाँच गराएका छन् । आँखा उपचार केन्द्र सल्ले तथा जिल्लाका विभिन्न ठाउँमा संचालन गरिएका शिविरहरुमा उक्त व्यक्तिहरुले आँखाको जाँच गराएका हुन् । जसमध्येमा डेढ सय जनाको आँखाको अप्रेशन गरिएको छ । आँखा उपचार केन्द्र सल्लेका अनुसार साउन यता जिल्लाका विभिन्न ठाउँमा संचालन गरिएका शिविरहरुमा १ सय २८ जनाको मोतियाबिन्दुको अप्रेशन गरिएको छ । त्यस्तै ९ जनाको आँखा उपचार केन्द्र सल्लेमा सामान्य अप्रेशन भएको छ । 

शिविर र आँखा उपचार केन्द्रमा गरी ४ महिनामा १ सय ३७ जनाको अप्रेशन भएको आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो । आँखा उपचार केन्द्र स्थापना भएपछि आँखाको उपचार गराउनेहरुको संख्यामा बृद्धि भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा ७ हजार २ सय ५५ जनाले आँखाको जाँच गराएका थिए । उक्त वर्ष विभिन्न ठाउँमा संचालित शिविरबाट १ सय ७८ जना र आँखा उपचार केन्द्र सल्लेबाट २८ जना गरी २ सय ६ जनाको आँखाको अप्रेशन भएको थियो ।

आँखा उपचार केन्द्रमा सामान्य अप्रेशन हुने गरेको छ भने जिल्लाका विभिन्न ठाउँमा शिविर आयोजना गरेर निःशुल्क अप्रेशन भइरहेको प्रमुख केसीको भनाई छ । आँखा सम्बन्धीको रोगको उपचार गर्नुपर्छ भन्ने चेतनाको विकास हुँदै गएको उहाँले बताउनुभयो । विभिन्न निकायको सहयोगमा डाक्टर सहित जिल्लाका विभिन्न ठाउँमा पुगेर निःशुल्क अप्रेशन शिविर सहित आँखा जाँच शिविर आयोजना हुन थालेपछि धेरै आँखाका बिरामीले सेवा पाएको केसीले बताउनुभयो । 

पछिल्लो पटक कार्तिक ८ र ९ गते जिल्लाको चौरजहारी नगरपालिकामा निःशुल्क आँखा अप्रेशन शिविर आयोजना गरिएको थियो । जसमा डाक्टर शुलक्ष्मी कटुवाल सहित १५ जनाको टोली खटिएको थियो । शिविर अघि नगरपालिकाका विभिन्न वडामा आँखा जाँच शिविर पनि आयोजना गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update