Kakhara सबैको खबर सम्पूर्ण खबर
यो वर्ष डिग्रे मेला लाग्ने 

गत वर्ष कोरोना भाइरस (कोभिड–१९)का कारण लाग्न नसकेको रुकुम पश्चिमको प्रशिद्ध डिग्रे मेला यो वर्ष लाग्ने भएको छ । हरेक वर्षको हरिबोधनी एकादशी देखि पूर्णिमासम्म लाग्दै आएको मेला यो वर्ष कार्तिक २९ गते देखि मंसिर ३ गतेसम्म लाग्ने डिग्रे मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

मुसीकोट नगरपालिका वडा नम्बर ५ को थर्पूमा डिग्रे शाईकुमारीको मन्दिर परिषरमा हरेक वर्ष भव्य मेला तथा पुजापाठ हुने गर्छ । पुजापाठ वर्षैभरी हुने गरेपनि हरिवोधनी एकादशी देखि पूर्णिमासम्म मेला पनि लाग्ने गर्छ । यो समयमा हुने पुजापाठ तथा बलीलाई विशेष महत्वका साथ लिने गरिएको छ । 

यो वर्ष कोरोना भाइरसको जोखिम घटेकाले मेला लगाउने निर्णय भएको डिग्रे मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष शैलेन्द्र केसीले जानकारी दिनुभयो । स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु पालना गरेर मेला संचालन गर्ने निर्णय भएको उहाँको भनाई छ । मन्दिर व्यवस्थापन समितिले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर मेला तथा मन्दिरमा उपस्थित हुन अनुरोध समेत गरेको छ । 

मास्क नलगाउनेलाई मेला प्रवेशमा रोक लगाउने व्यवस्थापन समितिले चेतावनी दिएको छ । त्यस्तै मेलामा मदिराजन्य पदार्थहरुको बिक्रिबितरण तथा सेवन गर्न रोक लगाईएको छ भने कुखुरा, राँगा, भैसी, सुंगुर लगाएतका पशुपंक्षीहरुको मासु मेला क्षेत्रभित्र निशेध गरिएको छ । 

जुवा, तास, र लंगुरपुर्जा खेल्न खेलाउन पनि मन्दिर व्यवस्थापन समितिले रोक लगाएको छ । मेलामा साँस्कृतिक झाँकीहरुलाई भने बिशेष प्रोत्साहन र पुरस्कारको ब्यबस्था गरिएको समितिले जनाएको छ । कर्णाली प्रदेशकै मुख्य धार्मिक स्थलका रुपमा रहेको डिग्रे मन्दिरको दर्शन गरेमा मनले चिताएको पुग्ने धार्मिक विश्वास रहेको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update