आज साढे ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलेआफ्नो परिवारको विवरण टिपाएसँगै १२ औं राष्ट्रिय जनगणना सुरु हुने भएको छ । ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित जनगणना मंसिर ९ मा सकिनेछ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जनगणना गर्न लागिएको हो । योजना आयोगका सदस्य रामकुमार फुँयालका अनुसार बिहीबार राष्ट्रपति भण्डारीको परिवारको विवरण लिइसकेपछि उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाको परिवारको जनगणना हुनेछ । त्यसका साथै प्रमुख प्रतिपक्ष एमालेका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा जनगणना हुनेछ ।
जनगणनाका लागि देशभर ८ हजार ५ सय सुपरीवेक्षक र ४० हजार गणक कर्मचारी खटाइएका छन् । एक जना गणकले कम्तीमा दिनमा १२ परिवारको लगत लिनुपर्ने हुन्छ । जनगणनाको १५ दिने अवधिमा एक जना गणकले सरदर १ सय ७५ घरपरिवारको लगत लिनुपर्नेछ । ‘एक जना गणकले एउटा परिवारसँग औसत २० मिनेटमा प्रश्नावली सोध्नेछ । घरमूलीलाई जनगणनाको महत्त्व बुझाउनुपर्नेसमेत भएकाले कतिपय ठाउँमा ४० मिनेट पनि लाग्न सक्ला ।’ जनगणनाका लागि सरकारले ४ अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।
जनगणनाका क्रममा प्रत्येक परिवारलाई ८० वटा प्रश्न सोधिँदै छ । यी प्रश्नलाई पहिलो चरणमा ‘घर तथा घरपरिवार सूचीकरण’ र दोस्रो मूल जनगणनामा ‘मुख्य प्रश्नावली’ र ‘सामुदायिक प्रश्नावली’ गरी तीन किसिमले विभाजन गरिएका छन् । पहिलो चरण ‘घर तथा घरपरिवार सूचीकरण’ भदौ ३० मा सुरु भएर असोज १८ मा सम्पन्न भइसकेको छ । गणकहरूले मुख्य प्रश्नावली लिएर प्रत्येक परिवारको मूलीसँग सोध्नेछन् ।
यसअन्तर्गत घर तथा परिवारमूलीको नाम, परिवार सदस्यका नाम, लिंग, उमेर, जन्ममिति र महिना, ५ वर्षमुनिको जन्मदर्ता, जातजाति, पुर्खाको भाषा, मातृभाषा, दोस्रो भाषा, धर्मलगायत करिब ५० वटा प्रश्नको सोधेर विवरण लिने छन् । ‘कानुनबमोजिम प्रत्येक व्यक्ति र परिवारले जनगणनामा सहभागी भएर आफ्नो सही विवरण दिनु अनिवार्य छ । विवरण नदिनेमाथि कानुनी कारबाही हुन सक्छ,’ विभाग स्राेतले भन्याे, ‘आम नागरिकको सहभागिताबिना राष्ट्रिय जनगणना हुन सक्दैन । तथ्यांक ऐनअनुसार हरेक व्यक्तिको विवरण गोप्य रहन्छ ।’ जनगणनामा विदेशमा रहेका परिवारका सदस्यहरूको समेत विवरण लिइनेछ ।
सुपरीवेक्षकहरू सामुदायिक प्रश्नावली लिएर देशभरिका ६ हजार ७ सय ४२ वडा कार्यालयमा पुग्नेछन् । त्यसमा वडाको क्षेत्रफल, आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपद् अवस्थाको विवरण लिइनेछ । यो प्रश्नावलीले एउटा वडा र अर्को वडाबीचको तुलनात्मक तथ्यांक दिने दाबी गरिएको छ । देशभरिमा ७० लाख घर र ३ करोडभन्दा बढी जनसंख्या रहेको आकलन गरिएको छ । काठमाडौंको थापाथलीस्थित विभागको कार्यालय हातामा डाटा प्रशोधन केन्द्र स्थापना गरिएको छ । पुसदेखि जनगणना तथ्यांक प्रविष्टि गरिने र त्यो पूरा गर्न ६ देखि ८ महिना लाग्ने विभागले जनाएको छ । प्रारम्भिक नतिजा जनगणना सम्पन्न भएको तीन महिनाभित्र र सम्पूर्ण नतिजा प्रकाशनका लागि भने दुई वर्ष लाग्ने विभागको भनाइ छ ।
नेपालमा २०१८ सालदेखि अन्तर्राष्ट्रिय मानक तथा वैज्ञानिक पद्धतिअनुसार प्रत्येक दस वर्षमा जनगणना हुँदै आएको छ । २०२८ सालको सातौं जनगणनामा कम्प्युटर मेसिनबाट आँकडा प्रशोधन सुरु गरिएको थियो । जनगणना दुई प्रकारले गर्ने चलन छ । जो जहाँ भेटिन्छ, त्यहींबाट निजको गणना गर्ने विधिलाई ‘डिफ्याक्टो’ भनिन्छ । यसमा व्यक्तिले अक्सर बसोबास (६ महिनाभन्दा बढी समय रहने) गर्ने थलोबाट व्यक्ति तथा परिवारको गणना गरिन्छ । नेपालमा दोस्रो विधिबाट जनगणना गर्ने गरिएको छ । यसलाई रूपान्तरित विधि गणना (मोडिफाइड डेजुरे मेथड अफ काउन्टिङ) भनिन्छ ।