Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा पनि राष्ट्रिय जनगणना २०७८ सुरु 
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले मुख्य प्रश्नावलीको विवरण भरेपछि फाेटाे खिचाउदै ।

रुकुम पश्चिममा पनि आजबाट राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले मुख्य प्रश्नावलीको विवरण भरेसंगै जिल्लामा राष्ट्रिय जनगणना सुरु भएको जिल्ला जनगणना अधिकारी सतिसकुमार चौधरीले जानकारी दिनुभयो । त्यस्तै स्थानीय तहमा सम्बन्धीत नगरपालिका प्रमुख र गाउँपालिकाका अध्यक्ष तथा वडामा वडा अध्यक्षहरुले जगणनाको मुख्य प्रश्नावलीको विवरण भरेर कार्यक्रमको सुरुवात गरेको उहाँले बताउनुभयो । जिल्ला भरमा २ सय ३८ जना गणक र ५७ जना सुपरिवेक्षक खटिएका छन् । 

त्यस्तै जिल्लाका ३ स्थानीय तहमा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । मुसीकोट नगरपालिकामा रहेको कार्यालयले त्रिवेणि, चौरजहारी नगरपालिकामा रहेको कार्यालयले सानीभेरी र आठबीसकोट नगरपालिकामा रहेको कार्यालयले बाँफिकोट गाउँपालिकालाई समेत हेर्ने जिल्ला जनगणना कार्यालयले जनाएको छ । यसअघि जिल्लामा घर तथा घर परिवार सुचिकृत कार्यक्रम सम्पन्न भइसकेको छ । जिल्लाभरमा ३८ हजार १ सय २४ घरपरिवार सुचिकृत भएका छन् । भने जिल्लाको प्रारम्भिक जनसंख्या १ लाख ७२ हजार ९ सय ५६ देखिएको छ । 

अन्तिम विवरण भने आजबाट सुरु भइ मंसिर ९ गतेसम्म संचालन हुने पूर्ण गणनाबाट पत्ता लाग्ने जिल्ला जनगणना कार्यालयको भनाई छ । घर घरमा आउने गणकहरुलाई सही सूचना दिएर सहयोग गर्न कार्यालयले आग्रह गरेको छ । जनगणनाको ठूलो महत्व रहेकाले नागरिकले दिएको एक एक सूचनाको अर्थ हुने कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update