इन्धनमा भएको मुल्य वृद्धिको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुम पश्चिमले मुसीकोटमा मसाल जुलुस निकालेको छ । इन्धनमा भएको मृल्य वृद्धि फिर्ताको माग सहित नेकपाले आज बेलुकी सदरमुकाम मुसीकोटको बागबजार देखि त्रिवेणि चोकसम्म मसाल जुलस निकालेको हो ।
नेकपाले निरन्तर रुपमा भइरहेको मूल्य वृद्धिलाई अत्याचारको पराकाष्ठ भन्दै यस्ता जनविरोधी कदमको भत्सना गरेको छ भने श्रृंखलाबद्ध रुपमा भइरहेको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गरेको छ ।
केन्द्रीय कार्यक्रम अनुसार मसाल जुलस निकालिएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रेमप्रशान्त बोहराले जानकारी दिनुभयो । पार्टीले मुल्य वृद्धिको विरोध र मृल्य वृद्धि फिर्ताको माग गर्दै नेपाल बन्द सहित विभिन्न विरोधका कार्यक्रम निर्धारण गरेको उहाँले बताउनुभयो । जिल्लामा पनि पार्टी केन्द्रले तोकेका सबै विरोधका कार्यक्रम हुने उहाँको भनाई छ ।
नेकपाले इन्धनमा भएको मृल्य वृद्धिको बिरोधमा कार्तिक ३० गते नेपाल बन्द सहित विभिन्न विरोधका कार्यक्रमहरु तय गरेको छ । नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिण्डर ७५ रुपैयाँले मूल्य बढाएको थियो ।