तिलकबहादुर उठ्दा ठ्याक्कै ६ बजेछ । निद्राबाट आँखा खुल्दा श्रीमती कराउँदै रैछिन् । भैंसीहरु पनि ठूलठूलो स्वरले कराउँदै थिए । तिलकबहादुर छक्क पर्नुभयो, आज मलाई के भो । हुन त शरीर पनि सन्चै छ । सधैं ४ बजे उठेर गोबर–घसेउटो गर्ने तिलकबहादुरलाई यति लामो निद कसरी आयो ।
मान्छेको शरीर न हो, तिलकबहादुरकी श्रीमतीले सम्झिछन्, हाड छालाको शरीर न के पो भो कि, पक्कै बूढालाई केही भयो । तर तिलकबहादुरलाई केही पनि भएको थिएन । उनी अरु दिन जस्तै फुर्तिसाथ उठे र दैनिकीमा लागे । सोझै भैंसी गोठ पुगेर काम सुरु गर्न थाले । भैंसीको थलामा गोबर थिएन । डुँडमा घाँस भरिनै थिए । दूध पनि दुहि सकिएछ । ढिलै भएपनि बजारमा दूध पुर्याउने काम मात्र थियो ।
पहिला धेरै दुःखमा डुबेका उहाँको दैनिकी अहिले भने अलि बदलिएको छ । त्यसैगरी केही समय ढिला भएपनि पहिला जस्तो हिंडेरै बजार पुग्नु पर्ने बाध्यता छैन । गाडी स्टाट गर्याे बजार हुइँक्यायो । अब पहिलाका ती दिन जस्तो छैन खत्री परिवारमा ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका २ कालच्युरीका तिलकबहादुर खत्रीको परिवारको दैनिकी बिहान ४ बजेदेखि राति १० बजेसम्म भैंसीको स्याहार सुसार र दुग्धजन्य पदार्थ बेच्नमै बित्छ । यो क्रम २०५० सालदेखि आज पनि चलिरहेको छ । त्यति बेला उहाँको गोठमा तीनवटा भैंसी मात्र थिए । ती भैंसीले दिने दूधमा दिनकै १६ माना बिक्री हुन्थ्यो । दूध बेच्न खत्री परिवारको एक सदस्य बिहान झिसमिसेमै पौने घण्टाको दूरी तय गरेर सदरमुकाम मुसीकोट पुग्थे । प्रतिमाना ५ रुपैयाँमा दूध बेचेर पनि मनग्य आम्दानी गरिएको थियो, खत्रीले भन्नुभयो ।
अहिले भने खत्री परिवारको भैंसी पालनमा धेरै परिवर्तन आएको छ । बुवा तिलकबहादुरले सम्हालेको भैंसी पालनको मोर्चा अहिले उहाँका दुई छोराले जिम्मा लिएका छन् । निजामती कर्मचारी कान्छा छोराले पनि बेला बेला सघाउँछन् । परम्परागत रुपमा भैंसी पाल्ने खत्री परिवार अहिले व्यावसायिक बने । घरको मात्र होइन, छिमेकीको दूध समेत संकलन गरेर बिक्री गर्छ । खत्री परिवार आत्मनिर्भर छ । अन्य केहीलाई रोजगारी पनि दिएको छ । ५ रुपैयाँ माना दूध बेच्ने यो परिवारले अहिले अरुको दूध खरिद गर्ने र ७५ रुपैयाँ प्रतिलिटर बेचिरहेको छ ।
खत्री परिवारले सञ्चालन गरेको शिद्धबाबा कृषि फर्ममा अहिले उन्नत जातका १७ वटा माउ भैंसी छन् । ८ वटा त दुहुना नै । ३ वटा दूध दिने गाई पनि गोठमा छ । गाभिनो ५ वटा भैंसी छन् । एउटा राँगा छ । ११ वटा पाडापाडी र बाच्छा बाच्छी । खत्री परिवारका ६ जना पूरै यसैमा खटिन्छन् । तीन जनालाई रोजगारी दिइएको छ ।
गाडीमा दूध सररर
दुई दशकसम्म पैदल हिंडेरै दूध बेच्ने खत्री परिवारले अहिले गाडीमा बोक्छ । दूध व्यवसायकै लागि ३२ लाख खर्चेर गाडी किने । सो रकममा २४ लाखको ३० प्रतिशत अनुदान पाएको थियो । पशु अस्पताल तथा पशु सेवा कार्यालयले गाडीका लागि ३० प्रतिशत अनुदान दिएको शिद्धबाबा कृषि फर्मका प्रोपराइटर रमेशले बताउनुभयो । उहाँ तिलकका माइला छोरा हुनुहुन्छ । यो फर्म खत्री परिवारको निजी हो । यही फर्मबाट उनीहरु दैनिक ८० देखि ९० लिटर दुध उत्पादन गर्छन् । घरमै उत्पादित र गाउँबाट संकलित दूध गाडीमा लोड गरेर रुकुम पश्चिम र पूर्वमा लगेर बिक्री गरिन्छ । गाडीले धेरै सजिलो बनाएको रमेशले बताउनुभयो । दैनिक १ सय ७० लिटरभन्दा बढी दूध लिएर गाडी रुकुम पश्चिमको मुसीकोट खलंगा र रुकुम पूर्व सदरमुकाम रुकुमकोटसम्म पुग्छ । खत्री परिवारले मुसीकोट खलंगा र रुकुमकोटमा डेरी समेत सञ्चालन गरेको छ । यी दुई ठाउँबाट दैनिक २ सय ५० लिटर भन्दा बढी दूध बिक्री भइरहेको छ । यसका अलावा दही, खुवा, पनिर लगायत दुग्ध जन्य पदार्थको पनि राम्रै ब्यापार हुन्छ ।
अनुदानले हौस्यायो
२०७३ सालदेखि व्यावसायिक भैंसीमा पालनमा होमिएका खत्री परिवारले विभिन्न ठाउँबाट अनुदान पाएका छन् । २०७५ मा भैंसी राख्ने ट्रस्ट बनाउँदा तत्कालिन भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट ६ लाख, २०७७ मा गाडी किन्दा ३० प्रतिशत अनुदान पाए । नगरपालिका कै उत्कृष्ट कृषकका रुपमा २५ हजारको पुरस्कारले पनि उनीहरुलाई झनै उत्साहित बनायो । नगरपालिकाले दूधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान दिने कार्यक्रम अन्तर्गत खत्री परिवारले २०७७ मा २४ हजार प्रोत्साहन समेत पायो । घाँस काट्ने इलेक्ट्रोनिक्स च्यापकटरमा पनि ५० प्रतिशत अनुदान पाएको छ । अनुदान, प्रोत्साहन, पुरस्कार जस्ताले थप हौसला मिलेको रमेश बताउँनुहुन्छ ।
२०५२ सालमा प्रतिमाना ५ रुपैयाँमा दूध बेच्दा महिनामा ३० हजार जतिको दुध बिक्री हुन्थ्यो । त्यसैबाट बचाएर परिवारको गर्जो टथ्र्यो । आज त्यही परिवार वार्षिक ६० लाखको दूधको कारोबार गर्छ । कुनै बेला वर्षमा गर्ने कारोबार अहिले दिनमै हुन्छ । सबै खर्च कटाएर वर्षमा ६ लाखभन्दा बढी बच्ने रमेश बताउँनुहुन्छ । पढेर लेखेर पनि के को भैंसी पालेको होला भनेर आफूहरुको खिसिट्युरी गर्ने छिमेकीले नै अहिले भैंसी पाल्न थालेको उहाँले सुनाउनुभयो । माउ भैंसी र गाईको संख्या ५० पुर्याउने र वर्षमा १ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने लक्ष परिवारको छ । फर्ममा जेनेरेटर, चिलिङ भ्याट, खोर वृद्धि गर्ने र ट्याक्टरजस्ता औजार समेत आवश्यकता रहेको रमेशको भनाइ छ ।
दूधमा आत्म निर्भर
रुकुम पश्चिम दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनेको छ । गत आव २०७७÷०७८ मा जिल्ला भरमा २ लाख ७५ हजार ४ सय ४५ लिटर दूधको कारोवार भएको थियो । जिल्लामा कारोबार भएको दूधको आधा नेपालगञ्ज, सल्यान, जाजरकोट र रुकुम पूर्वसम्म पुगेको छ । एक वर्षमा २ करोड २ लाख ४२ हजार १४ रुपैयाँको दूध तथा दुग्धजन्य पदार्थको कारोबार भएको पशु सेवा कार्यालयले जनाएको छ । सरकारबाट पशु फर्म, डेरी उद्योग, चिस्यान केन्द्र स्थापना, भैंसी स्रोत केन्द्र स्थापना लगायतमा अनुदान तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको छ । गतवर्ष मात्र जिल्ला भरमा ७० लाख खर्चेर ४ सय १६ वटा भैंसी वितरण गरिएको पशु सेवाका कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले बताउनुभयो ।
उता दूधबाटै नगरवासीको आय स्रोतमा वृद्धि गराउने भन्दै मुसीकोट नगरपालिकाले उद्घोष नै गरेको छ । नगर प्रमुख देवीलाल गौतम भन्नुहुन्छ, ‘भैंसीमा अनुदान, दूधमा अनुदान देखि विभिन्न उपकरणमा समेत नगरले सहयोग गर्नु यसको उदाहरण हो । नगरपालिकाको ४ नम्बर वडामा अहिले दुग्ध संकलन केन्द्र छ । उक्त डेरीले मात्र गतवर्ष ७४ हजार लिटर दूध नेपालगञ्ज पठाएको थियो । अहिले सोही वडामा दैनिक ४० हजार लिटर क्षमताको अर्को डेरीको काम भइरहेको छ । नगरपालिकाले यो वर्ष कृषकलाई १ सय २० वटा गाई बाँढ्दै छ । नगरको ४५ लाख, प्रदेशको ४५ लाख र कृषकको ९० लाखमा गाई वितरण हुन लागेको नगर पशु सेवाको भनाइ छ । पशु प्रवद्र्धनका लागि नगरले यो वर्ष ७० लाख विनियोजन गरेको छ । घाँस वितरण, औषधि, कृषक तालिम, कृतिम गर्भधारण लगायत कार्यक्रम यो वर्ष हुने नगर पशुसेवा शाखा प्रमुख सरस्वती सापकोटा बताउनुहुन्छ । २ लाख रुपैयाँ सहुलियत कर्जाका लागि नगरपालिकाले पहल गरिरहेको छ । निःशुल्क पशु बिमा कार्यक्रम पनि छ । गतवर्ष भैंसी वितरण भएका छन् । नगरपालिकाले कृषकलाई दूधमा प्रतिलिटर ३ रुपैयाँ प्रोत्साहन दिएको छ । यो वर्ष भने ५ रुपैयाँ पु¥याउने योजना छ । यसका लागि १५ लाख बजेट चालू वर्षका लागि विनियोजन भएको नगरपालिकाले जनायो ।