नेपाल कम्युनिष्ट पार्टी नेकपा रुकुम पश्चिमको मुसीकोट नगर समितिका ४ जना बाहेक सबै एउटै समूहमा खुलेका छन् । २ जना वडा इन्चार्ज र २ जना जिल्ला समिति सदस्य बाहेक अरु सबै प्रचण्ड माधव समूहमा खुलेका हुन् । पार्टी कार्यालयमा आइतबार बसेको बैठकमा केपी शर्मा ओलीको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको कडा प्रतिवाद गरिएको छ ।
बैठकमा १ नम्बर वडा इन्चार्ज कर्ण ओली र ७ नम्बर वडा इन्चार्ज थलबीर ओली आएनन् । यसैगरी मुसीकोट नगर समितिबाट जिल्ला समितिमा प्रतिनिधित्व गर्ने हेमराज श्रेष्ठ र तुलबीर विष्ट बाहेक सबै जिल्ला सदस्य तथा नगर समिति सदस्यहरु आइतबारको बैठकमा सहभागि भएका छन् । कर्ण र थलबीर, हेमराज र तुलबीर कता लागेका हुन् भनेर खुलेको छैन ।
मुसीकोट नगर समितिबाट जिल्ला कमितिमा २८ जनाले प्रतिनिधित्व गर्छन् भने प्रदेशमा ५ जनाले प्रतिनिधित्व गर्छन् । मुसीकोटबाट केन्द्रीय सदस्यमा वसन्तकुमार शर्मा हुनुहुन्छ भने स्थायी कमिटिमा प्रतिनिधित्व गर्ने जनार्दन शर्मा पनि मुसीकोटबासी हुनुहुन्छ । प्रष्ट खुलि नसकेका यि ४ जना बाहेक अरु सबै प्रचण्ड माधव समूहमा प्रष्ट लागेका छन् ।
नगरपालिका इन्चार्ज देवी ओली, सह इन्चार्ज गोपेश्वर केसीको उपस्थितिमा बसेको बैठकले प्रतिनिधि सभा विघटनको विरोधमा देशव्यापी हुने प्रर्दशनमा व्यापक सहभागिता जनाउने निर्णय गरेको छ । १४ गते खलंगामा हुने प्रर्दशनमा नगरका १४ वटै वडाबाट सहभागिता जनाउने निर्णय भएको इन्चार्ज ओलीले जानकारी दिनुभयो । त्यसका लागि हरेक वडाको कोटा समेत निर्धारण गरिएको उहाँले बताउनुभयो ।
नेकपा बाँफिकोट गाउँपालिकाले पनि शनिबार प्रचण्ड माधव समूहमै एकढिक्का रहेको जनाइसकेको छ । जिल्ला समितिले पनि शुक्रबार विज्ञप्ती निकालेर प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीको पछिल्लो कदमको भत्सर्ना गर्दै त्यसको विरुद्ध केन्द्रीय कमिटिले गरेका सम्पूर्ण संघर्षका कार्यक्रममा व्यापक सहभागिता जनाउने बताइसकेको छ ।