तिहार, २०७८ सकिएको छ । उमेर बढेसँगै विगतका स्मृतिमा अलि बढी हराउन मन लाग्दो रहेछ । तिहारको मौसम छ । सायद त्यही भएर होला सुषुप्त बनेको बाल्यकालको तिहारका यादहरू जागृत भएका छन् । अलि बढी प्रशंसा गर्न लायक रुपमा ।
भनिन्छ, हिन्दूहरूको महानचाड दसैं । तर हाम्रो परिवेशमा दसैंले भने त्यति महत्त्व पाएन । लाग्थ्यो दसैंलाई महानचाड त्यतिकै भनिएको रहेछ १ महान चाड तथा तिहार पो हुनुपर्ने । तिहारमा कति धेरै रमाइलो हुन्छ १ दसैंमा अष्ठमीको दिन बली काट्ने कुरामा भने अलि बढी चासो हुन्थ्यो । ठूलो कुभिन्डो, काँक्रो लगायतका बली छेक्न तछाडमड हुने । बली छेक्न पाए महान भएजस्तो लाग्ने । दसैंमा सामान्य मासुभातको खानपीनमा नै सीमित हुन्थ्यो । परिवार र आफन्तजन अनि छरछिमेकी बिचमा भने आत्मीयता, सौहार्दता र हार्दिकता भने कसिलो ।
तिहार कहिले पो आउँला भनेर दिन गन्थ्यौं । तिहारको बेग्र प्रतीक्षा अनि देउसी भैलोको विशेष तयारीमा करिब एक महिना बितेको पत्तै नहुने । सुरुमा त गाउँभरी तिहारमा भैली खेलेर दुई रुपैयाँ जम्मा गरेको स्मरण अझै छ । भैली प्रदर्शन गर्ने पहिलो प्राथमिकतामा खोलागाउँ भलाक्चा निवासी गुरु डन्नबहादुर के।सी।को घरपर्थ्यो । किनकी उहाँले पहिलो पटक दक्षिणा स्वरुप रु.१० प्रदान गर्नुभयो । एउटा गाउँभरी भैली देखाएर जम्मा भएको पैसा जति उहाँ एक्लैले दिएको १० रुपैयाँ भयो । हामीले खुसीले गदगद भयौं । दक्षिणा वापत प्राय चामलमात्रै पाइन्थ्यो । केही घरबाट मात्रै १, २ रुपैयाँ मिल्ने । त्यसपछिका तिहारहरूमा सरको घर सायदै छुट्यो होला ।
समय बित्दै गयो । थप जिम्मेवारी बोध र दुख बिर्साउने उत्सवका रूपमा तिहारलाई लिन थालियो । स्तरीय भैली बनाउने चेष्टामा खुव लागियो । मौलिक शब्द रचना, गाजाबाजाको खोजी । कहिले बलि राजाको इतिहास सुनाइयो त कहिले देशको अवस्था र जनजीविकाका सवालको सशक्तिकरण पनि । भैली संरक्षणका लागि २०६४ सालमा भैली संरक्षणको उपाय समेत खोजी गर्यौं । चौरजहारी नगरपालिका ६ ऐराकेमा भैली प्रदर्शनी मेलाको आयोजना, प्रतिस्पर्धा, पुरस्कृत र हालसम्म त्यसको निरन्तरता पनि ।
एकातिर देउसी भैलो अर्कोतिर मयूर नाच । कतै सिँगारु टप्पा त कतै सोरठी, ख्याली र पैसेरींको धमाकाले बस्तीहरू साङ्गीतिक माहोलमा गुञ्जायमन हुन्थे । सधैं यतिकै रमाइलो भए दिए हुन्थ्यो जस्तै लाग्ने । तिहार सकिएपछि अर्को तिहार कहिले पो आउला जस्तो हुने । एक वर्षको प्रतीक्षा पनि १० वर्ष जस्तै लाग्ने । तिहार कहिल्यै नसकिए हुन्थ्यो लाग्ने । तिहार सकिएको हप्तादिन बढीसम्म भैलीका गाजाबाजाको ताल निदाउदा पनि काममा गुञ्जिने । ब्युझिदा भने हत्तेरी १ भैलीको रन्को अझै गएको छैन भन्दै हातले कान फट्फट्याइन्थ्यो ।
देखिएका समस्याहरू
समय बदलिएछ । हालसालैका तिहारहरूको रूप रङ्ग बदलिएको छ । ढङ्गढाँचा फेरिएको छ । दसैं दसैं जस्तो भएन । आपसी सद्भाव भन्दा पनि हैसियत देखाउने माध्यम बनेको आभास हुन थालेको छ । अब तिहार तिहार जस्तो भएन । कृत्रिमतामा जवरजस्ती रमाइलो मानिदिनु परेको छ । डिजेले भैली गाउन थालेको छ । पहिरन बदलिएको छ । अपाच्य र देखिनसक्नु हुन थालेको छ । मौलिकता अपहरणमा परेको छ । सिर्जना मरेको छ । पहिचान गुमेको छ ।
तिहार तुलनात्मक रुपले अलिनो बनेको छ । नुन बिनाको तरकारी जस्तै । नाम चलेको कलाकारले एउटा तिहारको गीत भनेर गाइदिए सबैलाई पुगेको छ । मादल, ट्याम्को, झ्याली, बाँसुरी, नेवर आदिमा माकुराले जालो लगाएको छ । फुटेका मादलहरूमा मुसाले खोर बनाएको छ । युवा अहै अहै गर्दै हल्लामा रमाउन थालेका छन् । उनीहरू त्यसमै देख्न थालेका छन् जीन्दगीको मजा । सबथोक अरूको राम्रो भन्दै नक्कल गर्नुमा नै विवेक देख्नछन् । विकृति, विसङ्गति र हुलदङ्गामा महानता देख्नछन् । यसले सामाजिक उत्तरदायीत्व र जिम्मेवारीबाट विमुख हुन थालेको आभास पाइन्छ ।
भैली प्रदर्शनको सङ्कलित रकम सामाजिक कार्यमा कमी आउन थालेको छ । विद्यालय अवस्था सुधार देखि स्चेटरको जोहोसम्म सङ्कलित रकम खर्च गर्ने चलन थियो । त्यसैगरी चौतारो, धारो लगायतका सामाजिक हितका कार्यमा पनि । रमाइलो गरेर सङ्कलन गरेको रकम रमाइलोमा नै सिध्याउनुपर्छ भन्ने मनोविज्ञान सक्रिय भएको पाइन्छ । सामाजिक उत्तरदायित्त्व, आपसी हित र सदभावमा गिरावट आएको छ । फजुल र बिलासितातर्फ उद्देलित भएको पाइन्छ । भावी पुस्ताका लागि अनुकरणीय कार्यको खोजी छैन । आवेश, कुष्ठा, विभाजन र वैमष्यता हावी हुन थालेको छ ।
आधुनिकताको नाममा सबथोक नासिन र मासिन थालेका छन् । अर्काको सबै ठिक आफ्नो बेठिक ठान्ने चिन्तन बढ्दो छ । बनाबटी, कृत्रिमता र प्रतिलिपीको पछाडि दुनियाँ दौडन थालेको छ । भुईको टिप्न खोज्दा खल्तीको खसेको पत्तै छैन । जीवनलाई ओजिलो बनाउन "म" "म" जस्तै हुनुपर्छ भन्ने चिन्तनको पनि आवश्यकता पर्दछ । सबैमा आफ्नो ब्रान्ड बनाउन र त्यसैमा पहिचान दिलाउने हुटहुटी चल्न सक्नुपर्छ । तर नक्कल र अस्वभाविकता प्रदर्शन गरेर दुनियाँको ध्यान खिच्ने प्रवृत्ति छ । त्यसैमा आफूलाई महान भएको स्वघोषणा अनि आनन्दानुभूति ।
अबको बाटो
मौलिक संस्कृति हाम्रो पहिचान र स्वाभिमानलाई उँचो बनाउने आधार हुन् । हामीसँग पैसेरी, मयूर, सिंगारु, सोरठी, झ्याउरे, भैली लगायतका मौलिक नाचहरू छन् । तिहारमा खेलिने देउसी भैलो, दसैँको मालश्री धुन, रोपाइमा गाइने झारी भाकामा मौलिकपन र विशिष्टता छ ।
भिरपाखा, पहरा, भन्ज्याङ, चौतारी, गरा, मेलापर्व तथा उत्सवमा गाइने हामीसँग लोकगीत छन् । हाम्रा यी जीवन्त संस्कृतिहरूको संरक्षण, संवर्धन र प्रचार प्रसार गर्न सके हाम्रो पहिचान दरिलो बन्छ । हाम्रो पन उँचो बन्छ । विश्वव्यापीकरणको पछाडि दौडिदा आफ्नो मौलिकताको रक्षामा जुटन आवश्यक छ । सिर्जनशीलता, मौलिकता र आफ्नो पनमा रमाउने चेष्टा गर्नुमा बुद्धिमता देखिन्छ ।
मौलिक संस्कृतिका राम्रा अभ्यासहरूको खोजी अहिलेको अपरिहार्य आवश्यकता हो । हाम्रा पुर्खाका सबै अभ्यासहरू गलत छैनन् । हाम्रा कतिपय संस्कारहरू जीवन जिउने आधार पनि हुन् । हाम्रा अनि राम्रा मौलिक संस्कृतिको पहिचान र जगेर्नामा सबै सचेत र सजक बन्न आवश्यक छ । अग्रजहरूसँगको सहकार्यमा त्यसको अनुसरण र सक्रियता युवा पुस्ताले देखाउन सक्नुपर्छ ।
अन्त्यमा,
"हामी" "हामी" नै भएर बाँच्न सिकौं । आफ्नो पहिचान, सामाजिक एकता र सदभाव कायम गर्न जागरुक बनौं । अनुकरणीय हुने गरी केही नयाँ गर्ने प्रण गरौं । मौलिकताको रक्षा गर्दै सामाजिक रुपान्तरणमा अग्रसर बनौं । हामी को हौं रु भनेर कहिले काही आफ्नैले आफैलाई पनि प्रश्न गरौं । सिर्जनशील, रचनात्मक र सकरात्मक बनेर समाज र राष्ट्रप्रति जिम्मेवार रुपमा प्रस्तुत होऔं । यसैमा हामी सबैको हित हुनेछ ।