Kakhara सबैको खबर सम्पूर्ण खबर
अब मुसीकोटमा व्यवसायिक गाई पालन

रुकुम पश्चिममा व्यवसायिक गाई पालन हुने भएको छ । मुसीकोट नगरपालिकाले त्यसको सुरुवात गरेको हो । मुसीकोट नगरपालिका, पशु अस्पताल तथा पशु सेवा कार्यालय र किसानको सयुंक्त लगानीमा गाई पालन थालिएको हो । त्यसको सुरुवात मुसीकोट नगरपालिका १३ बाट सुरु भएको छ । होलेस्टेन जातका गाई ल्याएर पाल्ने र त्यसको दुधबाट आम्दानी गर्ने लक्ष राखिएको छ ।

पहिलो चरणमा दुई वटा दुहुना गाई आइपुगेका छन् । गाई ब्लक सञ्चालन समिति समितिका सदस्य १३ नम्बर वडाका तिलक ओली र विरबहादुर ओलीले एक/एक वटा दुहुना गाई ल्याएका छन् । ६, ७, १३, १४ लगायतका अन्य वडामा गरी चालु आर्थिक वर्षमा १ सय २० वटा गाई आउने मुसीकोट नगरपालिकाको पशु शाखा प्रमुख सरस्वती सापकोटाले जानकारी दिनुभयो ।

सुरुको चरणमा २ गाई आएको र अरु गाई आउने क्रममा रहेको सापकोटाले बताउनुभयो । किसानलाई व्यवसायिक बनाउका लागि गाई ल्याउने योजना बनाइएको हो । गाई पालनका लागि मुसीकोट नगरपालिकाल र पशु अस्पताल तथा पशु सेवा कार्यालयले ५० प्रतिशत र सिकान स्वयमले ५० प्रतिशत रकम लगानी गरेका छन् ।

१ सय २० गाई खरिदका लागि मुसीकोट नगरपालिकाले ४५ लाख पशु अस्पताल तथा पशु सेवा कार्यालयले ४५ लाख गरी ९० र किसानको ९० लाख गरी १ करोड ८० लाख बजेट विनियोजन गरिएको मुसीकोट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले जानकारी दिनुभयो । यही बजेटबाट ल्याइएका गाई किसानले व्यक्तिगत रुपमा पालन पोषण गरी त्यसबाट आम्दानी गर्ने अधिकृत तिवारीले बताउनुभयो ।

सुरुमा १३ नम्बर वडाका गाई ल्याएर वितरण गर्ने र अरु वडामा पनि क्रमश गाई वितरण गरिने नगरपालिकाले जनाएको छ । नगरपालिका उपप्रमुख प्रेमकुमारी सुनारले हरेक कुरालाई व्यवसायिकतामा जोड्ने र त्यसका लागि गाई ल्याउने अवधारणा अनुसार काम सुरु गरिएको बताउनुभयो । ’किसान आफैले पाल्ने र आम्दानी गर्ने अवधारणाबाट यो काम सुरु भएको छ, हामी छिटै यो काम सम्पन्न गर्छौं र यसबाट हुने आम्दानीले समृद्धितिर लैजाने विश्वास गरिएको छ,’ उपप्रमुख सुनारले भन्नुभयो । 


 

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update