यसैविच जवरजस्ती सवारी साधन बन्द गराउदै हिडेको भन्दै पक्राउ परेका १३ जनालाई रुकुम पश्चिम प्रहरीले छाडेको छ । सदरमुकाम मुसीकोट खलंगामा जवरजस्ती बन्द गराउदै हिडेका नेत्र विक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १३ जना कार्यकर्ताहरु पक्राउ परेका थिए ।
शान्तिपूर्ण रुपमा बन्दको कार्यक्रम संचालन गर्ने समझदारीमा उनिहरुलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । पक्राउ परेकाहरु ५ घण्टा पछि रिहा भएको उहाँले बताउनुभयो । बिहान ८ बजेतिर पक्राउ परेकाहरुलाई प्रहरीले दिउँशो २ बजेतिर रिहा गरेको हो ।
पक्राउ पर्नेमा नेकपाका जिल्ला सचिवालय सदस्य मोतिराम खड्का, पार्टी निकटको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सोम्पाल कामी लगायत १३ जना रहेका थिए । जिल्लाको अवस्था अहिलेसम्म शान्तिपूर्ण रहेको प्रहरीले जनाएको छ । जिल्लामा कतैपनि अप्रिय घटना नभएको र सुरक्षा व्यवस्था कडा परिएको प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।
जिल्ला सदरमुकाममा बन्दलाई लक्षित गरेर सामान्य दिनको तुलनामा सुरक्षाकर्मीको संख्या बढाईएको छ । त्यस्तै जिल्लामा बन्दको प्रभाव परेको छ । बिहानैबाट लामो तथा छोटो दुरीका सवारी साधनहरु संचालन हुन सकेका छैनन् । व्यापार व्यवशाय, उद्योग कलकारखाना पनि बन्द रहेका छन् ।