Kakhara सबैको खबर सम्पूर्ण खबर
डिग्रे मन्दिरमा बलि दिन सुरु, आज ३ सय बली दिइयो  

रुकुम पश्चिमको प्रमुख धार्मिक स्थल डिग्रे शाईकुमारी मन्दीरमा आज दोस्रो दिन देखि बलि दिन सुरु गरिएको छ । हरेक वर्षको हरिवोधनी एकादशी देखि पूर्णिमासम्म लाग्ने मेला हिजो एकादशी देखि सुरु भएको हो । हिजो पहिलो दिन एकादशी भएकाले पुजापाठ मात्र संचालन भएको थियो भने आज दोस्रो दिन देखि बलि दिन सुरु भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । आज एकै दिन ३ सय बोकाको बलि दिईएको छ । 

बिहानै देखि मन्दीरमा बलि दिनेको भिड लागेको थियो । टाढा टाढाबाट भक्तजनहरु पुजापाठ तथा बलि दिनका लागि आईपुगेको मन्दिरका पुजारी बिष्णु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बलि दिएका बोकाको टाउका बिक्रिबाट एकै दिनमा १ लाख ८८ हजार जम्मा भएको छ । 

त्यस्तै हिजो र आज दुई दिन गरेर भेटीबाट १ लाख १७ हजार उठेको छ । पहिलो दिन हिजो ३३ हजार बेटी उठेको थियो भने आज दोस्रो दिन ८४ हजार १ सय ८० रुपैंया भेटी उठेको मन्दीर व्यवस्थापन समितिले जनाएको छ । मन्दीरमा भक्तजनको राम्रो उपस्थिति रहेको समितिको भनाई छ । गत वर्ष कोरोना संक्रमणको जोखिमका कारण मेला लागेको थिएन् । जसका कारण यो वर्ष भक्तजनहरुको घुँईचो लागेको हो । डिग्रे मन्दीरमा वर्षैभरी पुजा पाठ तथा बलि दिन मिल्छ । 

तर एकादशी देखि पूर्णिमासम्मको समयलाई पुजापाठ तथा बलिका लागि विशेष समय मानिन्छ । मन्दीरमा पुजापाठ तथा बोकाको बली दिनाले मनले चिताएको पुग्ने धार्मिक विश्वास रही आएको छ । एकादशी देखि नै पुजापाठ सहित मेला सुरु हुन्छ भने पूर्णिमाका दिनमा भव्य मेला लाग्ने गर्दछ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update