Kakhara सबैको खबर सम्पूर्ण खबर
झोलुङ्गे र ट्रस्ट पुल निर्माण

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा २ वटा पुल निर्माण भएका छन् । वडा नं. ९ को खारखोलामा झोलुंगे पुल र वडा नं. १० को अर्मा खोलामा ट्रस्ट पुल निर्माण भएको हो । पुल निर्माण भएसंगै गाउँपालिका अध्यक्ष नरवहादुर पुनले उद्घाटन समेत गर्नुभएको छ । वडा नं. ९ को खारखोलामा कुल २२ लाख १८ हजारर ५ सय २४ रुपैंयामा झोलुंगे पुल निर्माण भएको हो । यसमा झोलुंगे पुल क्षेत्रगत कार्यक्रमको १८ लाख ९२ हजार ७ सय ६६, गाउँपालिकाको १ लाख ३३ हजार १ सय ११ र उपभोक्ता समितिको ४४ हजार ३ सय ७० रुपैंया खर्च भएको छ ।

यो पुल ४३ मिटर लामो रहेको छ । पुल निर्माण भएपछि विशेष गरी बिद्यार्थीहरुलाई वर्खाको समयमा विद्यालय आउजाउ गर्न र अन्य स्थानीयलाई सदरमुकाम खलंगा सहित अन्य ठाउँ जान आउन सहज हुने भएको छ । यसअघि उक्त खोलामा पुल नहुँदा जोखिम मोलेर खोला वारपार गर्नुका साथै लामो बाटो भएर गन्तव्यसम्म पुग्नुपर्ने बाध्यता थियो । अव मगरराङजा, राङजा लगायत ठाउँका बिद्यार्थीहरुलाई जनप्रिय मावि हाँसिवाङ आउन सजिलो हुनुका साथै त्यहाका स्थानीयलाई विभिन्न ठाउँ जानका लागि सजिलो हुने बताईएको छ । त्यस्तै वडा नं. १० को अर्मा खोलामा २४ मिटर लामो ट्रस्ट पुल निर्माण भएको छ ।

यो पुल निर्माणमा कुल १९ लाख ९७ हजार २ सय ९२ रुपैंया खर्च भएको गाउँपालिकाका सव इन्जिनिय तथा झोलुंगे पुल फोकल पर्शन गगन ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार यो पुल पनि साझेदारीमा निर्माण भएको हो । झोलुंगे पुल क्षेत्रगत कार्यक्रमबाट १८ लाख ३७ हजार ५ सय ९, गाउँपालिकाको १ लाख १९ हजार ८ सय ३७ र उपभोक्ता समितिको ३९ हजार ९ सय ४५ रुपैंया खर्च भएको उहाँको भनाई छ । यो पुलले पनि विशेष गरी वर्खायाममा बिद्यार्थीहरुलाई नै सजिलो बनाउने छ । वडा नं. १० को बगेरी, रिठाबगर लगायत ठाउँका बिद्यार्थीहरुलाई सरस्वति मावि अर्माडाँडा पुग्न र स्थानीयलाई विभिन्न ठाउँमा जानुपर्दा खोला तर्न सहज भएको बताईएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update