Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका गाउँ नगर सम्मेलन उद्घाटनमा अर्थ मन्त्री शर्मा आउने

अर्थमन्त्री जनार्दन शर्मा गृह जिल्ला आउनुहुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको गाउँ तथा नगर सम्मेलन उद्घाटनका निम्ति अर्थ मन्त्री शर्मा रुकुम पश्चिम आउनुहुने भएको हो । अर्थ मन्त्री भएपछि शर्मा पहिलो पटक गृह जिल्ला आउन लाग्नुभएको हो ।

मंसिर १० र ११ गते रुकुम पश्चिमका सबै पालिकाको गाउँ र नगर सम्मेलन उद्घाटन हुने छ । १० गते त्रिवेणि गाउँपलिकाको सिम्रुतुमा सानीभेरी गाउँपालिकाका सिम्लीमा र चौरजहारी नगरपालिकाको चौरजहारीमा गाउँ तथा नगर सम्मेलन उद्घाटन हुने छ ।

११ गते मुसीकोट नगरको खलंगामा, बाँफिकोट गाउँपालिकाको छिन्खेत र आठबीसकोट नगरपालिकाको राडीमा गाउँ तथा नगर सम्मेलन उद्घाटन गर्ने गरी कार्यक्रम तय गरिएको जिल्ला इन्चार्ज वसन्तकुमार शर्माले जानकारी दिनुभयो । पार्टीका संगठन विभाग प्रमुख तथा अर्थ मन्त्री आउने भएपछि सोही अनुसारको तयारी गर्न सबै पालिकामा निर्देशन दिइएको इन्चार्ज शर्माले बताउनुभयो ।

यसै सन्दर्भमा पार्टीले सबै पालिकामा पार्टीको तयारी बैठक समेत गरेको छ । जिल्ला समन्वय समिति सदस्य, गाउँपालिका सदस्य लगायतको बैठक बसेर सम्मेलनको तयारी, राजनीतिक प्रतिवेदन निर्माण लगायतका विषयमा निर्णय भएको जिल्ला इन्चार्ज शर्माले बताउनुभयो ।

जिल्ला अध्यक्ष गोपाल शर्मा, इन्चार्ज वसन्तकुमार शर्मा, कर्णाली प्रदेश सदस्य महेन्द्र केसी लगायतका नेताहरु गाउँ तथा नगरको सम्मेलन उद्घाटन लगायतका भेला, बैठकमा जुटेका छन् । माओवादी केन्द्रले यस अघि सबै टोलमा भेला सम्पन्न गरेको छ भने ४ गते ७३ वटै वडाको सम्मेलन सम्पन्न गर्दै छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update