नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गणेशमान पुनले कम्युनिष्ट तथा बाम शक्तिहरु एक हुने अवसर र सम्भावना टरि नसकेको बताउनुभएको छ । दुई ठूला पार्टीको भइसकेको एकता केपी ओलीकै नेतृत्वमा खण्डित गरिएपनि बाँकी कम्युनिष्ट, तथा बाम शक्तिहरुको विचमा सहकार्य हुने ठाउँ तथा सम्भावना कायमै रहेको नेता पुनको भनाई छ । नेकपा रुकुम पूर्वको बैठकलार्ई सम्बोधन गर्दै नेता पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन प्रतिगामि कदम भएको टिप्पनी गर्नुभयो ।
संविधानले परिकल्पना नै नगरेको काम देशको प्रधानमन्त्री तथा राष्ट्रपतिबाट हुनु भनेको कल्पना बाहिरको कदम भएको उहाँको भनाई छ । प्रधानमन्त्री पछिल्लो कदमले मात्रै नहच्कने भन्दै उहाँले अरु थप कदम चाल्नका लागि प्रधानमन्त्री तयारी अवस्थामा रहेको समेत बताउनुभएको छ । यस अघिका यस्ता कदमबाट जनतालाई धोका दिएको उल्लेख गर्नुभएका नेता पुनले प्रधानमन्त्रीको यो कदमबाट जनताको साथै नेपालको कम्मुनिष्ट आन्दोलन, कम्युनिष्ट नेता,कार्यर्ता समेतलाई धोका भएको बताउनुभयो ।
केन्द्रमा जे भएपनि जिल्ला सुदृढ र एकताबद्ध भएर अघि बढ्नुपर्ने सुझाव उहाँको छ । जिल्लाको विकास, समृद्धिका लागि यो वा त्यो भनेर भन्दा पनि सबै एकढिक्का भएर लाग्नुपर्नेमा नेता पुनको जोड छ । पूर्व मन्त्री समेत रहनु भएको नेता पुनले पछिल्लो राजनीतिक घटना क्रमबाट पाठ सिक्दै आगामी योजना निर्माण तथा कार्यान्वयनमा जुट्न नेता कार्यकर्तालाई अनुरोध समेत गर्नुभएको छ । नेकपाको बैठकले प्रधानमन्त्री र राष्ट्रपतिको पछिल्लो कदमका विरुद्ध १४ गते व्यापक विरोध प्रर्दशन गर्ने, पुष १९ गते सिस्ने र भूमे गाउँपालिका पार्टीको बैठक गर्ने निर्णय गरेको सचिवालय सदस्य जीवन केसीले जानकारी दिनुभयो ।
यसैगरी पुष २० गते पुथाउत्तरगंगा गाउँपालिका पार्टीको बैठक डाकिएको छ भने जिल्लाका ३१ वटै वडामा केन्द्रीत भएर भेला, बैठक तथा प्रशिक्षणमा जुट्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा प्रष्ट प्रचण्ड माधव नेपाल समूहको बहुमत देखिएको छ । बैठकमा केही बाहेक अधिकांश जिल्ला सदस्य सहभागि भएका थिए । मेघबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकको सञ्चालन कार्यालय सदस्य भिउमान घर्तीले गर्नुभएको थियो ।