कर्णाली प्रदेशकै प्रमुख धार्मिक स्थल डिग्रे शाईकुमारी मन्दिरमा ४ दिन देखि पुजा आरधाना, दर्शन, बली दिने तथा मेला जारी छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका ५ थर्पूमा पर्ने यो मन्दिरमा वर्षैभरी पुजापाठ, दर्शन तथा बलि दिन मिल्ने भएपनि हरिवोधनी एकादशी देखि पुर्णिमा सम्मको समय विशेष मानिन्छ ।
यो अवधिमा मन्दिरमा विशेष महत्वका साथ पुजा पाठ, दर्शनका साथै बली दिने र मेला लाग्ने गर्दछ । गत वर्ष भने कोरोना महामारीका कारण मेला लाग्न सकेन् । तर यो वर्ष भने कोरोना भाइरसको महामारीको जोखिम घट्दै गएपछि मन्दिरमा पुजापाठ र मेला सुरु भएको हो ।
कार्तिक २९ गते हरिवोधनी एकादशी देखि सुरु भएको मेला मंसिर ३ गते पुर्णिमासम्म चल्ने छ । सुरुको दिन देखि नै मन्दिरमा दर्शनार्थीको घुँइचो लागेको छ । पुजाका लागि घण्टौं लाईन लाग्नुपर्ने अवस्था छ । गत वर्ष मेला नलागेका कारण पनि यो वर्ष दर्शनार्थीहरुको संख्यामा उल्लेख्य बृद्धि भएको मन्दिर व्यवस्थापन समिति बताउँछ ।
पुजापाठ तथा दर्शनका लागि बिहान ३ बजे देखि नै मन्दिर खुला गरिन्छ भने राति पनि अवेरसम्म मन्दिर खुला नै रहने समितिको भनाई छ । ‘यो वर्ष दर्शनार्थीको संख्या राम्रो देखिएको छ, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र केसीले भन्नुभयो–टाढा टाढाबाट मान्छेहरु दर्शनका लागि आईरहनुभएको छ ।’
मन्दिरमा बलि दिने भक्तजनहरुको पनि संख्या उल्लेख्य रहेको उहाँको भनाई छ । उहाँका अनुसार हिजो बुधबार मात्र ७ सय बढि बलि चढेका छन् । मन्दिरमा पुजापाठ, दर्शन तथा बलि र मेला भर्नका लागि रुकुम पश्चिम सहित छिमेकि जिल्लाहरु रुकुम पूर्व, सल्यान, जाजरकोट, दाङ, बाँके, सुर्खेत सहित काठमाडौं लगायत देशका विभिन्न ठाउँबाट आईरहेको बताईएको छ । मंसिर ३ गते पूर्णिमाका दिन मन्दिर परिषरमा भव्य मेला संगै यो वर्षको मेला सकिने छ ।