Kakhara सबैको खबर सम्पूर्ण खबर
आज डिग्रे मेला

आज रुकुम पश्चिमको प्रसिद्ध धार्मिक डिग्रे मेला लागेको छ । विहानैदेखि दर्शनार्थी तथा मेला भर्न जानेहरु डिग्रै गइरहेका छन् । मेलाका लागि खलंगा तथा आसपास पुगेकाहरु पनि डिग्रे पुगेका छन् भने अन्य ठाउँबाट आउनेहरु पनि डिग्रे पुग्दैछन् । गत वर्ष कोरोनाका कारण मेला लागेको थिएन ।

यो वर्ष भने मेला लगाउने निर्णय यस अघि नै भएको थियो । जिल्ला प्रशासन कार्यालय, डिग्रे मन्दिर व्यवस्थापन समिति लगायतले यो वर्ष डिग्रे मेला लगाउने निर्णय गरेका थिए । ५ दिन सम्म लाग्ने यो मेलामा धार्मिक पूजाआजा र बलि चढाउने गरिन्छ । हरिबोधनी एकादशिदेखि मेला सुरु भई पूर्णिमाको दिन सम्पन्न हुन्छ ।

यो वर्ष व्यवस्थापन समितिले सकेसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर दर्शन गर्न, पूजापाठ गर्न तथा मेला भर्न सबैलाई अनुरोध गरेको छ । हरेक मेला लाग्ने वर्षमा यहाँ झण्डै एक लाख जना आउने गरेको व्यवस्थापन समितिले बताउने गरेको छ । आजै जिल्लाका अन्य ठाउँमा पनि मेला लाग्छ । बाँफिकोट गाउँपालिका ५, को दुदिल्ला, २ नम्बर वडाको कुरेपानीमा पनि बली चढाउने, पूजापाठ गर्ने चलन छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update