कार्तिक २९ गते हरिवोधनी एकादशी देखि सुरु भएको रुकुम पश्चिमको प्रमुख डिग्रे मेला सकिएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ५ थर्पूमा रहेको डिग्रे शाईकुमारीको मन्दिरमा हरेक वर्ष हरिवोधनी एकादशी देखि पूर्णिमासम्म लाग्ने गर्दछ । आज मन्दिर परिषरमा भव्य मेला लागेसंगै मेला सकिएको हो । ५ दिन चल्ने मेला अन्तरगत एकादशी देखि चतुर्दशीका दिनसम्म पुजापाठ, मन्दिरको दर्शन सहित बोकाको बलि दिईन्छ । भने मेलाको अन्तिम दिन अर्थात पूर्णिमामा भव्य मेला लाग्ने गर्दछ ।
गत वर्ष कोरोना संक्रमणको जोखिमका कारण मेला लाग्न सकेको थिएन् । तर यो वर्ष भने कोरोनाको जोखिम कम भएसंगै मेला लागेको हो । यो वर्ष करिब डेढ लाख मानिसले मन्दिरमा पुजापाठ, दर्शन सहित मेला भरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । समितिका अध्यक्ष शैलेन्द्र केसीका अनुसार मेला भव्य रुपमा सम्पन्न भएको छ । ५ दिनसम्म करिब डेढ लाख दर्शनार्थीहरुले मेला भर्नुका साथै दर्शन गरेको उहाँले बताउनुभयो ।
मेला भर्न र पुजापाठका लागि रुकुम पश्चिम सहित रुकुम पूर्व, सल्यान, जाजरकोट, सुर्खेत, दाङ, रोल्पा, बाँके सहित देशका विभिन्न ठाउँबाट मानिसहरु आएको बताईएको छ । यो वर्ष मेलाबाट करिब १० लाख आम्दानी भएको अध्यक्ष केसीले बताउनुभयो । मन्दिरमा करिब ११ सय बोकाको बलि चढेकामा बलि चढाईएका बोकाको टाउका बिक्रिबाट करिब ५ लाख, मन्दिरमा पुजापाठ तथा दर्शनका लागि आएका दर्शनार्थीहरुबाट भेटी वाफत करिब ४ लाख र स्टल बिक्रिबाट करिब १ लाख रुपैंया उठेको उहाँको भनाई छ । यो मोटामोटी आम्दानी रहेको र मेलाको खास खर्च र आम्दानी विवरण केही दिनमा निस्किने उहाँले बताउनुभयो ।
डिग्रे शाइकुमारीको मन्दिरमा वर्षैभरी पुजापाठ तथा बलि दिन मिल्छ । तर एकादशी देखि पूर्णिमासम्मको ५ दिनलाई भने विशेष महत्वका साथ लिने गरिन्छ । मन्दिरमा पुजापाठ, दर्शन र बलि दिनाले मनले चिताएको पुग्ने जनविश्वास रही आएको छ ।