प्रसिद्ध धार्मीक स्थल रुकुम पश्चिमको डिग्रे शाइकुमारी मन्दिरमा हरेक वर्ष हरिबोधनि एकादशि देखि कार्तिक शुक्ल पुर्णिमासम्म परम्परागत मेला लाग्ने गर्दछ । मेला यो वर्षपनि कार्तिक २९ गते हरिबोधनी एकादशी देखि सुरु भई शुक्रबार आजसम्म लागेको छ । द्धापर युगको अन्त्य तिरबाट सुरु भएको यो मेलालाई दैविक शक्तिसंग जोडेर हेर्ने गरिन्छ । यस मन्दिरमा पुजापाठ, दर्शन तथा बोका बलि दिएमा मनले चिताएको पुग्ने धार्मिक जनविश्वास छ । सोही विश्वासका कारण यो मेलालाई यस क्षेत्रकै प्रसिद्ध मेलाका रुपमा लिईन्छ । यो मेला चर्चित हुनुको अर्को कारण छ लठ्ठी अर्थात सगाल नाच । मन्दिरको पूर्वतिर पर्ने साँख गाउँका मानिसहरु मेलाको अन्तिम दिन हातमा लठ्ठी लिएर मन्दिर परिसरमा लाग्ने भव्य मेलामा नाच्ने गर्दछन् ।
उनिहरु साँख गाउँबाटै बाजागाजा सहित हातमा लठ्ठी बोकेर नाच्दै डिग्रे मेला स्थल मुसीकोट ५ थर्पू सम्म पुग्ने गर्दछन् । मन्दिरमा पुगिसकेपछि डिग्रे शाइकुमारी भगवतिको दर्शन गर्दै उनिहरु मन्दिर भन्दा मुनिरहेको मन्दिर परिसरमा गएर नाच्ने गर्दछन् । मन्दिर मुनिको प्रांगनबाट उनिहरु पुनः मन्दिरमा पुगि दर्शन गर्दै नाच्ने गर्दछन् । ३, ४ पटक तलमाथि गर्दै नाचेपछि यो नाच समापन गर्ने गरिन्छ । यो नाचसंगै मेला समापन भएको मानिन्छ । लठ्ठी समाएर एक अर्कामा लठ्ठी हानाहान गरेर नाच्ने गरेपनि कसैलाई चोटपटक भने लाग्दैन । यो नाच मेला सुरु भएदेखि नै नाच्ने गरिएको मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष लालबहादुर केसी बताउँनुहुन्छ ।
द्धापर युगको अन्त्य तिर उक्त ठाउँमा शाइकुमारी भगवती प्रकट भएर यस ठाउँलाई धार्मिक तथा शक्ति पिँठका रुपमा स्थापित गर्न लगाएपछि त्यस ठाउँका ब्राहमणहरुले शाइकुमारी भगवतिको मन्दिर स्थापना गरी पुजापाठ र मेलाको सुरुवात गरेको इतिहास रहेको पूर्व अध्यक्ष केसीकाे भनाई छ । प्राचिनकालमा दैवि शक्तिलाई भुत प्रेतबाट डर भएकाले मन्दिरको शक्तिलाई बचाउँन लठ्ठी नाचको सुरुवात भएको पाईएको बताईन्छ । लठ्ठी लिएर नाच्दा भुतप्रेत मन्दिरमा प्रवेश गर्न नपाउँने विश्वास छ । साँखका मान्छेहरुले यो नाच नाच्ने भएकाले यस नाचलाई सगाल नाच पनि भनिन्छ ।