नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आज देशैभरका वडामा वडा सम्मेलन गर्दै छ । राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको माओवादी केन्द्रले यस अघि सेल समिटि र टोल समितिको सम्मेला गरिसकेको छ । आज देशैभर वडा सम्मेलन गर्ने माओवादी केन्द्रले बताएको छ । रुकुम पश्चिमका ७३ र रुकुम पूर्वका ३१ वडामा पनि आजै वडा सम्मेलन हुँदै छ । दुवै जिल्ला निर्वाचन समितिले वडा सम्मेलनको तयारी पूरा भइसकेको जनाएका छन् ।
दिउँसो १२ बजेपछि सबै वडामा सम्मेलन उद्घाटन हुने र नयाँ नेतृत्व चयन गरिने छ । सम्बन्धित पालिका तथा वडामा रहेको जिल्ला समन्वय समिति सदस्य, नगर तथा गाउँपालिका सदस्यलाई वडा सम्मेलनमा जान पार्टीले निर्देशन दिएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य वसन्तकुमार शर्माले अधिकांश वडाको सम्मेलन आजै बेलुका सम्म सक्ने तयारी रहेको बताउनुभयो । केही बाहेक सबैको सम्मेलन बेलुकासम्म सकिने र बाँकी वडाको पनि भोली सम्म सकिने उहाँले जानकारी दिनुभयो ।
मंसिर ११ गते देशैभरका नगर तथा गाउँपालिकामा सम्मेलन गर्ने तयारी माओवादी केन्द्रको छ । रुकुम पश्चिममा भने १० र ११ गते सम्मेलनको उद्घाटन हुनेछ । ३ स्थानीय तहमा १० र तीन स्थानीय तहमा ११ गते सम्मेलद उद्घाटनको तयारी छ । सम्मेलन उद्घाटनका लागि अर्थ मन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मा गृह जिल्ला आउने कार्यक्रम तय भइसकेको छ ।