नेपाली कांग्रेसले भोली मंसिर ६ गते रुकुम पश्चिमको जिल्ला अधिवेशन गर्दै छ । त्यसको तयारीमा नेताहरु जुटेका छन् । जिल्ला अधिवेशनका साथसाथै प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन पनि भोली एकै साथ हुने जनाइएको छ । प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन ३ गते तोकिएको थियो तर जिल्लाको र क्षेत्रको एकै पटक गर्ने भन्दै कांग्रेसले भोलीका लागि तीन वटै अधिवेशन सारेको हो ।
पार्टी भित्र सहमति गर्ने र डिग्रे मेला परेका कारण पनि क्षेत्रीय अधिवेशन भोलीलाई सारिएको कांग्रेसले जनाएको छ । प्रदेश निर्वाचन क्षेत्र क र ख तथा जिल्ला अधिवेशन भोली एकै साथ हुने जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभयो । उहाँ अनुसार तीन वटै अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछन् ।
सकेसम्म सहमति गरेर नेतृत्व छनौट गर्ने तयारीमा जुटिएको सभापति ओलीले बताउनुभयो । जिल्ला सभापतिमा वर्तमान सभापति ओली र कृष्णबहादुर रोकाय हुनुहुन्छ । जिल्ला कार्य समितिका अरु पद, क्षेत्रीय समितिका पदमा पनि आकांक्षीको सूची लामै छ । महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधिमा पनि धेरैले आकांक्षा राखेका छन् । सकेसम्म मिलाएर जाने नभए निर्वाचनमा भएपनि जाने गरी नेताहरुले तयारी गरेका छन् ।