नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुकुम पश्चिमले पार्टीका नगर तथा गाउँ सम्मेलनलाई भव्य बनाउने भएको छ । जिल्ला सदरमुकाम खलंगा स्थित सहिद स्मृति प्रतिष्ठानमा आइतबार बसेको पार्टीको जिल्ला समन्वय समितिको बैठकले मंसिर १० र ११ गते उद्घाटन हुने नगर तथा गाउँ सम्मेलनलाई भव्य बनाउने निर्णय गरेको हो ।
पार्टीले यस अघि नै १० गते तीन र ११ गते तीन पालिकाको सम्मेलन उद्घाटन गर्ने निर्णय गरिसकेको छ । १० गते त्रिवेणि गाउँपालिकाको सिम्रुतुमा, सानीभेरी गाउँपालिकाको सिम्लीमा र चौरजहारी नगरपालिकाका चौरजहारीमा पालिका सम्मेलनको उद्घाटन हुनेछ । ११ गते मुसीकोट नगरपालिकाका खलंगामा, बाँफिकोट गाउँपालिकाको छिन्खेतमा र आठबीसकोट नगरपालिकाका राडीमा सम्मेलन उद्घाटनको तयारी गरिएको छ ।
तिनै पालिका सम्मेलनलाई भव्य बनाउने निर्णय गर्दै बैठक सकिएको बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार मंसिर १२ गते खलंगामा विशेष कार्यक्रम आयोजना गरी सबै पालिकाको सम्मेलन समापनको घोषणा गरिने छ । पार्टीका संगठन विभाग प्रमुख तथा अर्थ मन्त्री जनार्दन शर्माको उपस्थितिमा सबै पालिकाका सम्मेलन उद्घाटन गर्ने तयारी छ ।
पालिका सम्मेलनको समापनमा पनि उहाँ उपस्थित हुनुहुने छ । शनिबारदेखि पार्टीले जिल्लाका वडा सम्मेलन थालेको छ । पछिल्लो जानकारी अनुसार हालसम्म ६० बढी वडाको सम्मेलन सम्पन्न भइसकेको छ । ७ गते सबै वडाको सम्मेलन सम्पन्न गर्ने तयारीमा पार्टी छ । पार्टीको जिल्ला समन्वय समितिका अध्यक्ष गोपाल शर्माको अध्यक्षतामा भएको बैठकमा कर्णाली प्रदेश अध्यक्ष राजकुमार शर्मा, जिल्ला इन्चार्ज वसन्तकुमार शर्मा लगायतको नेताहरुको उपस्थिति रहेको थियो ।