नेपाली कांग्रेस रुकुम पश्चिमको सातौं जिल्ला अधिवेशन सुरु भएको छ । जिल्ला सदरमुकाम खलंगा स्थित बराहटाकुरामा अधिवेशनको उद्घाटन भएको छ । कांग्रेस नेता गोपाल जिजंग शाहले पानसमा बत्ति बालेर तथा गमलामा पानी हालेर अधिवेशनको उद्घाटन गर्नुभएको हो । जिल्ला अधिवेशन भएकाले केन्द्रीय नेताहरुको उपस्थिति छैन ।
अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिको साथमा कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु जिल्ला पुगेका छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । अधिवेशनको उद्घाटन शत्रपछि बन्द शत्र सुरु हुने जनाइएको छ । बन्द शत्र मार्फत नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । नयाँ नेतृत्वका जिल्ला सभापतिका लागि प्रेमप्रकाश ओली र कृष्णबहादुर रोकायले आकांक्षा देखाएका छन् ।
क्षेत्रीय अधिवेशन पनि आजै
मंसिर ३ गते गर्नुपर्ने क्षेत्रीय अधिवेशन पनि जिल्ला अधिवेशनसँगसँगै आयोजना गरिएको छ । प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन पनि जिल्ला सँगसँगै गर्ने तयारी कांग्रेसको छ । क र ख गरी दुवै प्रदेश सभा निर्वाचन क्षेत्रको पनि नयाँ नेतृत्व चयन हुने छ ।
दुवै क्षेत्रमा सभापतिका आकांक्षीहरुको संख्या ठूलो छ । यद्यपी दुवै क्षेत्रको सभापतिमा सहमति भइसकेको भन्ने चर्चा पनि आइरहेको छ । अधिवेशनबाट प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि पनि छनौट गरिने छ । महाधिवेशन प्रतिनिधिका लागि पनि धेरैले आकांक्षा देखाएका छन् ।