Kakhara सबैको खबर सम्पूर्ण खबर
मह उत्पादनमा ९० प्रतिशत गिरावट

यस वर्ष रुकुम पूर्वमा मह उत्पादनमा कमी आएको छ । प्रतिकुल मौसम सितलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा  कमि आएको हो । यस वर्ष मह उत्पादनको लागि धेरै आशा गरिएको भए पनी अपत्यारिलो तरिकाले  मह अत्पादनमा कमी आएको हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष मह उत्पादनमा ५० प्रतिशत गिरावट आएको थियो भने गएको वर्षको तुलनामा यो वर्ष मह उत्पादनमा ९० प्रतिशत गिरावट भएको मह उत्पादक किसानहरुको भनाई छ ।  

मौरीको संख्या धेरै भएका कारण  चरण अभावले गर्दा मह उत्पादनमा कमि आएको हुन सक्ने सिस्ने गाउँपालिका वडा नम्बर ३ का मौरी पालक किसान ओमप्रकास खड्काले जानकारी दिनुभयो । अहिले वडामा १४ सय भन्दा बढी मौरीका सहितका घार रहेको उहाँको भनाई छ। गत वर्ष ओमप्रकाशले मह बिक्रीबाट मात्र करिब ३ लाख भन्दा बढी आम्दानी गर्नु भएको थियो । उहाँले गत वर्ष १ सय २५ धार्नी मह बिक्री गरेको बताउनुभयो ।

तर यो वर्ष भने १ सय ८० वटा मौरीका गोलाबाट जम्मा १२ धार्नी  मह उत्पादन गरेको कृषक खड्काले जानकारी दिनुभयो । त्यस्तै सिस्ने ३ का अर्का मौरी पालक किसान कमलाल खड्काले पनी यस वर्ष मह उत्पादनमा कमि आएको बताउनुभयो । गत वर्ष ८० धार्नी मह बिक्री गरेर २ लाख भन्दा बढि रुपैयाँ आम्दानी गरेको भएपनि यस वर्ष मह बिक्रीबाट भने जस्तो आम्दानी हुन नसक्ने  खड्काले बताउनु भयो ।

यो वर्ष भने १ सय ४ वटा मौरी गोलाबाट १० धार्नी मात्र मह उत्पादन गरेको उहाँको भनाई छ ।  लामो समय सम्म वर्षा भएका कारण गत वर्षको तुलनामा यो मह उत्पादनमा धेरै कमी आएको कृषि कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।  तीन स्थानिय तह रहेको रुकुम पूर्व मध्ये सिस्ने गाउँपालिका ३ पोखरालाई मह उत्पादनमा जिल्ला कै पकेट क्षेत्रको रुपमा विकास गर्दै लगिएको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update