नेपाली कांग्रेस रुकुम पश्चिमले सोमबार सातौं जिल्ला अधिवेशन उद्घाटन गरेको छ । जिल्ला सदरमुकाम खलंगा स्थित बराहटाकुरामा दिउँसो अधिवेशन उद्घाटन भयो । उद्घाटनमा कांग्रेसले नेता, कार्यकर्ता तथा शुभेच्छुक सबैलाई आउन आह्वान गरेको थियो । बन्द शत्र सुरु हुनु अगाडि कांग्रेस नेता कार्यकर्ताको र्यालीले खलंगा बजार परिक्रमा गरेको थियो । जिल्लाका ६ वटै स्थानीय तहबाट आएकाहरु नारा,जुलुस, झाँकी र बाजागाजा सहित कार्यक्रम स्थल पुगेका थिए । कांग्रेसका नेता गोपाल जिजंग शाहले अधिवेशन उद्घाटन गर्नुभयो ।
नेताहरुको मयुर नाँच
र्याली बजारबाट कार्यक्रम स्थल झर्दै थियो । झाँकीमा आएको एउटा मयुर नाँच मञ्चमै पुगेको थियो । सोही मयुर नाँचका युवाको मयुर मागेर नेताहरु नाँचे । गोपाल जिजंग शाह, सभापति प्रेमप्रकाश ओली, पूर्व सभापति मानबहादुर नेपाली, अर्का नेता कृष्णबहादुर रोकाय लगायतका नेताहरु सकि नसकि, भाँती पुर्याइ, नपुर्याइ मयुर नाचे । नेताहरुको नाँच सबैले चाख पूर्वक हेरे । भिडियो र फोटो खिच्नेहरुको भीडभाड नै थियो । नेताहरुले नाँचेर सबै एकमत रहेको सन्देश दिन खोजेको देखिन्थ्यो ।
रुख र झण्डावाला मास्क
सातौं जिल्ला अधिवेशनमा सहभागि अधिकांश कांग्रेसका नेता कार्यकर्ताले मास्क प्रयोग गरेका थिए । मास्क सामान्य थिएनन् । पार्टी कार्यक्रमकै लागि भनेर मास्क बनाइएको प्रष्ट देखिन्थ्यो । नेपाली कांग्रेसको चुनाव चिन्ह रुख र कांग्रेसको झण्डा अंकित मास्क प्रयोग गरिएको थियो । कोरोना महामारीमा अरु सतर्कता नअपनाएपनि मास्कको प्रयोग गर्ने सतर्कता भने कांग्रेसले अपनाउने प्रयास गरेको देखियो ।
डेड एक्सपायर झोला
सातौं महाधिवेशनका प्रतिनिधिलाई झोला दिइएको छ । उद्घाटन शत्रमा सहभागि सबैलाई होइन । प्रतिनिधिले मात्रै झोला पाएका छन् । अरुलाई झोला दिइएको छैन । वितरित झोलाको डेड एक्सपायर छ । झोला बनाइएको कपडाको डेड छ छैन थाहा हुने कुरा भएन तर प्रयोग गर्ने लेखिएको मिति भने गइसकेको छ । गत असोज १५ गते जिल्ला कार्य समितिको अधिवेशन हुने भनिएको थियो । त्यतिबेलैका लागि बनाइएका झोला कांग्रेसले यो अधिवेशनमा उपयोग गरेको छ ।
कृष्णबहादुर रोकायको विचार पुस्तिका वितरण
मञ्चमा नेताहरु मयुर नाँचिरहेका थिए । औपचारीक कार्यक्रम सुरु भएको थिएन । तर कार्यक्रम स्थलमा एउटा पुस्तिका धमाधम वितरण भइरहेको थियो । त्यो थियो कृष्णबहादुर रोकायको विचार पुस्तिका । रोकायले जिल्ला सभापति हुने आकांक्षा सहित सातौं जिल्ला अधिवेशनमा आफ्नो विचार समेटिएको विचार पुस्तिका वितरण गराउनु भएको छ । सभापतिमा सहमति भइसक्यो भन्ने हल्ला आइरहेका बेला रोकायको यो कामले सहमति भइ सकेको छैन कि भन्ने संशय पनि कार्यकर्तामा जगाइदिएको छ । रोकायले विचार पुस्तिकामा विभिन्न योजना र कार्यक्रम समेट्नु भएको छ । पुस्तिकामा जिल्लाको नेतृत्वका लागि अन्तिम पटक प्रयास गर्ने र त्यसमा सहयोग गर्न सबै प्रतिनिधिहरुलाई अनुरोध समेत गर्नुभएको छ ।