नेपाली कांग्रेसले जिल्ला सदरमुकाम खलंगामा विरोध प्रर्दशन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको असंवैधानिक कदमका विरुद्ध कांग्रेसले खलंगामा प्रर्दशन गरेको हो । पुष ५ गते प्रनिनिधि सभा विघटन गरिएपछि नेपालका अधिकांश राजनीतिक दल आन्दोलनमा छन् । नेपाली कांग्रेसले पनि केन्द्रीय कार्य समितिको निर्णय अनुसार सोमबार सदरमुकाम खलंगा बजारमा विरोध प्रर्दशन गरेको हो ।
प्रर्दशनका लागि नेपाली कांग्रेसका स्थानीय स्तरका नेता, कार्यकर्ता तथा समर्थक जिल्ला पुगेका थिए । विरोध र्यालीले खलंगा बजार परिक्रमा गरेको थियो भने बाल मन्दिर प्राङ्गनमा पुगेर सभामा परिनत भएको थियो । प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध कांग्रेसले गरेको प्रर्दशनमा बाक्लो सहभागिता देखिन्थ्यो । बजार परिक्रमा पछि भएको कोण सभालाई सम्बोधन गर्दै कांग्रेस नेताहरुले प्रधानमन्त्रीको पछिल्लो कदम असंवैधानिक भएको जिकिर गरे ।
प्रधानमन्त्रीले गरेको कदम जनमत तथा जनभावनाको विपरित रहेको कांग्रेसको ठहर छ । प्रधानमन्न्त्रीको कदमको विषय अब अदालतमा प्रवेश गरेकाले अदालतले पनि विवेक पुर्याएर फैसला गर्ने विश्वास कांग्रेस नेताहरुको छ । यद्यपी अदालतको फैसला भने सबैले स्वीकार्नुपर्नेमा सबैको जोड रहेको महाधिवेशन प्रतिनिधि खड्कबहादुर डाँगीले बताउनुभयो । प्रधानमन्त्रीले संसद विघटनसम्मको कदम चाल्नुमा प्रधानमन्त्रीको साथसाथै नेकपाका अरु नेताहरु प्रचण्ड,माधव नेपालको पनि भूमिका रहेको डाँगीको भनाई छ । कोण सभालाई जिल्ला सभापति प्रेमप्रकाश ओली, नेताहरु कृष्णबहादुर रोकाय, मिठु मल्ल, तिलक भण्डारी, मनिषा भण्डारी र रुकुम पूर्वका जिल्ला उप सभापति तेजेन्द्र खाम मगरले सम्बोधन गर्नुभएको थियो ।